खेलकुद
मध्यविन्दु कप फुटबलः नवलपरासी ११ द्वारा भेडावारी पराजित

नवलपुर, असोज १३–
विदेशी खेलाडी फुफानाको ह्याट्रिक मद्धतमा नवलपरासी ११ ले चोरमारामा जारी प्रथम मध्यविन्दु कप फुटबल प्रतियोगितामा शानदार विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा भेडाबारीलाई ६–० गोलको फराकिले अन्तरले पराजित गर्दै नवलपरासी ११ ले विजयी सुरुवात गरेको हो । पहिलो हाफको नवौँ मिनेटमा विदेशी खेलाडी फुफानाले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता कायम गरेको नवलपरासीले दोस्रो हाफमा थप ५ गोल गर्न सफल भयो । दोस्रो हाफको ८ औँ मिनेटमा आकाश थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
त्यसको तीन मिनेटपछि ११ औँ मिनेटमा पुनः फुफानाले गोल गर्दे टिमको अग्रता तेब्बर बनाए । २४ औँ मिनेटमा विनोद कुुँवरले गोल गर्दै नवलपरासीलाई ४–० को अग्रता दिलाउन सफल भए । लगत्तै २६ औँ मिनेटमा फुफानाले ह्याट्रिक पुरा गर्दै टिमलाई ५–० को अग्रता दिलाए । फेरी २८ औँ मिनेटमा विनोद कुँवरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६–० को जित दिलाए । सो खेलको म्यान अफ दि म्याच ह्याट्रिक गरेका विदेशी खेलाडी फुफाना घोषित भए । प्रतियोगिता अन्तरगत आज (मंगलबार) भैरब स्पोर्टस् क्लब गोपीगञ्ज पश्चिम नवलपरासी र दुम्कीबास ११ बीच प्रतिस्पर्धा हुने खेल संयोजक चक्रबन्धु अधिकारीले जानकारी दिए । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछ । त्यसैगरि सेमीफाइनलबाट बाहिरिने दुइ टिमका लागि १५/१५ हजार, उत्कृष्ट खेलाडीलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थिक संयोजक भिम हमालले बताए ।