राजनीति
राप्रपाले गाई मारेर पाखण्ड देखायोः बाबुराम भट्टराई

काठमाडौं,भदौं १४-
समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् । समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड छ ’, उनले भने, ‘सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिँडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए ।