राजनीति
नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिए

काठमाडौं,भदौं ३-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ।
प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।
























