चितवन विशेष

भरतपुरमा नेपालकै नमुना ग्रिन बेल्ट बन्ने, सडकमा बगैँचादेखि वाकिङ स्ट्रिटसम्म

Banner

चितवन, साउन ११-

भरतपुर महानगरपालिकाभित्र बाइपास रोडको समानान्तर हुने नेपालमै नमुना ग्रिन बेल्ट बनाइने भएको छ ।

ग्रिन बेल्टबारे आज भरतपुर महानगरपालिका–११ मा स्थानीय सरोकारवालाहरुसँग छलफल भएको हो । ग्रीन बेल्टको भरतपुरमा रहेको साउथ वेस्ट मल्टीप्रपोज कन्सल्टले डीपीआरको निर्माण गरिसकेको छ । चितवनका प्रदेश सांसद विजय सुवेदीले भरतपुरको बसेनीबाट नहरचोकसम्म रहेको प्रयोगमा नआउने नहरमासेर ग्रीन बेल्ट बनाउन लागिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘यसबारेमा पहिले देखिनै चर्चा र छलफल भएको थियो । नहर मासेर सडक बनाउनु हुँदैन भन्ने सोचेर ग्रिन बेल्टको अवधारणा ल्याइएको छ ।’ उनले यस हरित मार्गमा साइकल र मानिसहरु मर्निङवाकमा हिड्ने गरी पार्कको रुपमा निर्माण गरिने बताए ।

बाइपास रोडको समानान्तर हुने गरी यो हरित मार्ग बसेनीबाट नहरचोकसम्म फैलिनेछ । यस मार्गको डीपीआर बनाएका इन्जिनियर पुरन सुवेदीले जम्मा १.४३ किलोमिटर रहने यस हरित मार्गको बीचमा बगैँचा र छेउछेउमा तीन मिटर वाकिङ स्ट्रिट रहने नारायणी अनलाइनलाई जानकारी दिए । उनले बगैँचामा फलफूलका बुटाहरु रोपिने बताए । उनले भने, ‘ यस मार्गमा हेभी गाडीहरु हिड्न निषेध गरिने छ । नेपालमा यसप्रकारको सडक नभएको तर दार्जलिङमा यस्ता सडकहरु देखिन्छ । हाम्रो लागि यो सडक नमुना नै हुन्छ ।’

इञ्जिनियर सुवेदीले नौ मिटर देखि १८ मिटरसम्म फराकिलो हुने यस मार्ग निर्माणको लागि पाँच करोड लाग्ने जानकारी दिए । उनले बनाएको डीपीआरलाई नगरपालिकाले पास गरिसकेको छ । भरतपुर महानगरपालिका–११ मा अहिले कौशी खेतीदेखि घरघरमा बगैँचा र ग्रिन बेल्टको अवधारणा आएको छ । यसले साकार रुप लिए भरतपुर नमुना शहर बन्नेमा कसैको दुईमत नरहने स्थानीयले बताएका छन् । बसेनीका कृष्ण अधिकारीले योजना बन्नु राम्रो हो तर समयमा पूरा हुनेमा आफूलाई शंका लागेको बताए । उनले भने, ‘ नयाँ मार्ग बनोस् तर बसेनी लामाटोल सडकजस्तो निर्माण कार्यमा अलपत्र पारेर बर्षात्को समयमा नागरिकलाई दुःख दिने काम नहोस् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>