क्रिकेट
विश्वकप छनौट एशिया फाइनलः कुवेतले नेपाललाई दियो १४२ रनको लक्ष्य

चितवन, साउन ११–
सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले ७ विकेटले विजयी भएको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा १४३ रन बनाउँदै जित हासिल गर्यो।
जितका लागि ५ रन आवश्यक हुँदा शरद भेषवाकरले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । उनी ३८ रनमा नटआउट रहे भने रोहित कुमार पौडेल ६ रनमा नटआउट रहे । यस्तै आज पारस खड्काले कप्तानी पारी खेले । उनी यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पुरा गरे । ४२ बल खेलेका पारसले एक छक्का र ११ चौकाको मद्धतमा ६८ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल १३ बलमा १९ रन बनाएर आउट भए भने दीपेन्द्र सिंह ऐरी एक रनमा आउट भए । आजको खेलमा जित हात पार्न कप्तान पारस र शरदले दोस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपालका तिनै विकेट कुवेतका मुहम्मद काशिफले लिए ।
यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । उसले अन्तिम ओभरमा १७ रन जोड्यो । उसका लागि मुहम्द कासिफ नटआउट ४९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले समान ३÷३ विकेट लिए भने करन केसीले २ र अभिनाष बोहराले एक विकेट लिए ।
आजको खेलमा नेपाल विजयी भएसंगै अंक तालिकको दोस्रो स्थानमा उक्लिएको छ । अब प्रतियोगिताको अन्तिम खेलमा भोलि नेपालले सिंगापुरको सामना गर्नेछ । सो खेलमा नेपाल विजयी भए सिधै युएईमा हुने टि–२० विश्वकपको ग्लोबल छनौटमा पुग्नेछ ।