कृषि

नवलपुरका किसानलाई २८ हजार फलफूलका विरुवा वितरण

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन २-

नवलपुरको पहाडी गाउँपालिकाका किसानलाई २८ हजार ६०५ सुन्तला र सुन्लाजातका फलफूलका विरुवा वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरमा लागू भएको सुन्तलाजात फलफूल जोन कार्यक्रममा संलग्न किसानलाई उक्त विरुवा वितरण गरिएको हो । सुन्तला १५ हजार ५४८, कागती ११ हजार ८०७ , जुनार एक हजार ३०, निबुवा ९५ , तिनपाते सुन्तला (जंगली सुन्तला) १२५ वटा विरुवा वितरण गरिएको सुन्तलाजात फलफूलजोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको वडा नम्बर ४, ५, ६ हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५, गँैडाकोट नगरपाकिलाको वडा नम्बर १८ र देवचुली नगरपालिकाको वडा नम्बर ६ मा सुन्तालाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । सुन्तलाजातका फलफूलको विरुवा रोप्ने उत्तम समय असारको महिना भएकाले असार भित्रै सबै विरुवा वितरण गर्ने काम सम्पन्न गरिएको हो ।

परियोजनाको १० लाख र किसानको १० लाख गरी २० लाख रुपैयाँको लागतमा विरुवा खरिद गरेर वितरण गरिएको अधिकृत शर्माले बताए । किसानलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको हो । वितरण गरिएको सुन्तलाका विरुवा सबै रैथाने जातका हुन भने कागतीमा केही सुन कागती र तेह्रथुम लोकल जातको रहेको शर्माले जानकारी दिए । विरुवा गोरखा , पाल्पा र धनकुटाबाट ल्याइएको हो । आउँदो सिजनमा विरुवा उत्पादन गर्नका लागि गत वर्ष नर्सरीको पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको छ । बौदीकाली ४ रिठे र ५ बबोक र हुप्सेकोट ५ मा नर्सरीका लागि पूर्वाधार तयार गरिएको अधिकृत शर्माले जानकारी दिए । कलमी र (बिजु ) बीउबाट उत्पादन गर्ने दुवै माध्यमबाट करिब २० हजार विरुवा उत्पादन गर्ने गरेर पूर्वाधार तयार गरिएकाले आउँदो सिजनबाट जिल्लामै विरुवा उत्पादन गर्ने लक्ष्य रहेको शर्माले जानकारी दिए ।

यसैबीच परियोजना लागू भएका तीन वटा स्थानीय तहमा सुन्तलाजात फलफूलका लागि आवश्यक पर्ने सिँचाइको काम समेत भएको छ । १२ वटा साना सिँचाईको योजना सम्पन्न भएका छन् । गैँडाकोटको १८ नम्बर वडा र बुलिङटारको ५ नम्बर वडामा लिफ्ट सिँचाई र १० वटा पाइप लाइन सिँचाइको योजना सम्पन्न भएको परियोजनाका प्राविधिक सहायक नरेन्द्र भण्डारीले बताए । यस्तै बौदीकाली ५ बबोकमा ११ लाख ५० हजार रुपैयाँको लागतमा सुन्तला संकलन केन्द्रसमेत निर्माण सम्पन्न भएको छ । किसानको १५ प्रतिशत लागतमा उक्त संकलन केन्द्र निर्माण भएको हो । किसानले उत्पादन गरेको सुन्तलाजात फलफूललाई संकलन केन्द्रमा संकलन गरी एकीकृत रुपमा बजारीकरण गर्ने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको र आउँदो सिजनबाट काम सुरु हुने भण्डारीले बताए ।

परियोजना अन्तर्गत गत वर्ष एक करोड २३ लाख बजेट बिनियोजन गरिएकोमा ९० प्रतिशत बजेट खर्च भएको र काम पनि उपलब्धीपूर्ण रहेको अधिकृत शर्माको दाबी छ । परियोजना लागू भएपछि किसानहरुले पनि उत्साहापूर्ण रुपमा काम गरिरहेकाले नवलपुरमा सुन्तलाजात पलफूल खेतीमा राम्रो सुधार आउनेमा पूर्ण विशवस्त रहेको शर्मा बताउँछन् । कार्यक्रम लागू भएपछि यस क्षेत्रका कृषकसमेत खुसी भएका छन् । ‘पुस्तौ पुस्तादेखि परम्परागत रुपमा खेती गर्दै आएका थियौं । सरकारले परियोजना नै लागू गरेपछि प्राविधिक कुराहरु पनि थाहा भएको छ । काम गर्दै जादा धेरै कुरा जान्ने अवसर पायौ ।’ सुन्तलाजात फलफूल जोन सञ्चालक समितिका अध्यक्ष खेमबहादुर गेलाङले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>