कृषि

नवलपुरका किसानको गुनासो : बैँकले कृषिमा लगानी गर्न चाहेन

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार २५-

बैँक र बित्तीय संस्थाले कृषिको क्षेत्रमा लगानी गर्नै नखोज्दा किसानहरु मारमा परेको गुनासो गरेका छन् ।

कावासोती नगरपालिका पशु सेवा शाखाको आयोजनामा बुधबार कावासोतीमा गरिएको ग्रामीण अर्थतन्त्रको सुधार व्यवसायिक पशुपालन नै मुख्य आधार भन्ने विषयमा सरोकारवालासँग गरिएको अन्तरक्रियामा कृषिको क्षेत्रमा बैँक र वित्तीय संस्थाहरुले अनिवार्य लगानी गर्नुपर्ने प्रावधान भए पनि नवलपुरमा कृषि क्षेत्रमा लगानी गर्न नखोजेको सहभागी किसानहरुले बताए ।

बैँकहरुले कृषिमा लगानी नगर्दा आफूजस्ता धेरै ब्यवसायिक पशुपालक कृषकले सहजरुपमा ऋण पाउन नसकेको गुनासो किसान हरि पंगेनीले ब्यक्त गरे । पछिल्लो समय पशुपालन ब्यवसाय फस्टाउँदै गएको अवस्थामा समेत वित्तीय संस्थाले अन्य उद्योगी ब्यापारीलाई सहजै ऋण उपलब्ध गराउने तर किसानलाई विभिन्न बहानामा आनाकानी गरेर दुःःख दिने काम गर्ने गरेको अर्का भैसीपालक किसान सुमित्रा तिमिल्सिनाले बताइन् ।

ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने हो भने ब्यवसायिक पशुपालन राम्रो माध्यम हुने कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशुपालनको क्षेत्रमा लगानी गर्न बैँक वित्तीय संस्थाले हिचकिचाउन नहुनेमा सरोकारवालाहरुले जोड दिए ।

नवलपुर क्षेत्रमा पशुपालनको राम्रो सम्भावना रहेकाले पनि किसानलाई पशुपालनतर्फ आकर्षित गर्न, सहजरुपमा ऋण उपलब्धता, विभिन्न सहुलियत, अनुदानलगायतका कार्यक्रममा स्थानीय तहले पहल गर्नुपर्ने सरोकारवालाहरुको जोड थियो । कार्यक्रममा कावासोती नगरपालिकाभित्र रहेका पशुपालक किसान, बैँक तथा विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कावासोती नगरपालिकाका निमित्त पशासकीय अधिकृत क्षेत्रबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा पशुपालनको वर्तमान अवस्था, पशुबाट प्राप्त हुने आम्दानीका बारेमा पशु सेवा शाखा प्रमुख बुद्धिबहादुर देउजाले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>