फिचर

लोकल कुखुरापालक मनरुपाको सफलता: खुला चौंरमा ६२० कुखुरा पालेर लाखौं आम्दानी

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार २३-

कुखुरापालन गर्ने किसाले खोर भित्र थुनेर पालेको हामीले सुन्दै र देख्दै पनि आएका छौं । तर, कुखुरालाई बाहिरै खुला छाडेर पनि पाल्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् नवलपुरकी कृषक मनरुपा । नवलपुरको हुप्सेकोट गाउँपालिका निवासी मनरुपा पाण्डेले लोकल कुखुरा पालेकी छन् । उनले ती कुखरालाई खोर भित्रै नथुनि बाहिरै चर्न दिन्छिन् ।

पछिल्लो समय ब्रोइलर कुखुरापालनतर्फ पशुपालक कृषक आकर्षित भइरहेको बेला पाण्डेले भने लोकल कुखुरा पाल्न थालेकी छन् । सानैदेखि कृषि पेसामै लागेकी पाण्डेले बाख्रापालन गर्दै आएकी थिइन् । तर, बिगत १० महिनाबाट उनी लोकल खुकुरा पालनतर्फ लागेकी छन् । उनले कुखुरालाई रातिको समयमा मात्रै खोर भित्रै थुन्छिन्, दिनभर कुखुरा बाहिरै रमाउँछन् ।

पाण्डेले तीन कठ्ठा जग्गामा कुखुरापालन, गाईपालन र तरकारी खेतीसमेत गर्दै आएकी छन् । चारैतिरबाट जालीले बारेर केही जग्गामा खोर र गोठ बनाएकी छन् भने केही जग्गामा तरकारी खेती गरेकी छन् । बाँकी रहेको जग्गामा घास रोपेकी छन् । घाँस रोपेको जग्गामा उनले कुखुरालाई चर्न खुल्ला छाड्ने गरेकी छन् । लोकल कुखुराले किनेको दानाभन्दा पनि बाहिरको कीरा फटेङ्ग्रा , पात पतिङ्गर, वस्तुको मलमा पाइने कीरा बढी मन पराउने भएकाले खुला छाडेर पाल्ने गरेको पाण्डेले बताइन् । खोरभित्रै थुनेर दाना मात्रै खुवाएर पालेको भन्दा आफ्नै खुसीले चरेर हुर्केका कुखुरा चाडै बढ्ने र तौलसमेत बढी हुने तालिममा सिकेकाले कुखुरालाई खुला छाडेर पालेको उनले सुनाइन् । ‘ मैले आफैले पनि महसुस गरेको छु, सँगै हालेको गिरिराज कुखुरा खोरभित्रै थुनेको छु । गिरिराज भन्दा लोकल कुखुरा ठूला छन् । बाहिर चरेको र दानामै भर परेकोमा धेरै फरक पर्दो रहेछ । अर्कोतर्फ लोकल जात भन्ने खोरभित्रै थुनेर दाना मात्रै खुवाएर हुर्काउने हो भने लोकल जातको स्वाद नै हुँदैन । त्यो पनि विकासे नै हुन्छ । ’ पाण्डेले भनिन् ।

वस्तुको गोबरमा पाइने कीरा लोकल कुखुरालाई मनपर्ने भएकाले उनले दुई गाईसमेत पालेको सुनाइन् । अझै ब्यवस्थित गरेर पाँच वटासम्म गाई भैसी पाल्ने योजनासमेत उनको छ । कुखुरा चर्ने ठाउँमा उनले घाँस लगाएकी छन् । ती घाँसको पात झरेर कुहिएपछि त्यसबाट कीरा निस्कने हुँदा कुखुराको आहाराको लागि राम्रो हुने पाण्डेले जानकारी दिइन् ।

अहिले उनले ६०० लोकल कुखुरा र १२० गिरिराज कुखुरा पालेकी छन् । पहिलो लटमा उनले एक हजार कुखुरा पालेर बिक्री गरिसकेको बताइन् । अहिले दोस्रो लटको कुखुरा हालेकी हुन् । पहिलो लटमा नै उनले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न सफल भएको बताइन् । खोरगोठ बनाउन र चल्ला किन्न ६ लाख रुपैयाँ लगानीबाट सुरु गरेको ब्यसायले सबै खर्च कटाएर ६ महिनामै तीन लाख रुपैयाँ नाफा कमाएको उनले सुनाइन् ।

ब्रोइलर कुखुरा भन्दा लोकल कुखुरा पाल्न धेरै सजिलो हुने र बजार भाउसमेत राम्रो रहेकाले आफूले यस पेसातर्फ लागेको उनको भनाइ छ ।
ब्रोइलरलाई जस्तो धेरै स्हारसुसार लोकल कुखरालाई गर्न नपर्ने पाण्डेको अनुभव छ । उनी भन्छिन्, ‘ब्रोइलर कुखुरालाई पटक पटक दानापानी हाल्नुपर्ने, रातभरि गीत बजाएर छाड्नुपर्ने , आफै सुत्नसमेत नपाइने अनि विभिन्न औषधि पनि दिइरहनुपर्ने चाडै तौल बढाउन, जसले मासु सेवन गर्नेलाई समेत असर पार्छ । तर, लोकल कुखुरालाई त्यस्तै धेरै दुःख गर्नै पर्देन । बिहानै खोर खोलेपछि सबै आफै बाहिर निस्किएर चर्छन् । राति भएपछि आफै खोरभित्र जान्छन् । एकदुई पाली दानापानी दिए पुग्छ । ’

पाण्डेलाई अहिले उनका श्रीमान्ले सहयोग गर्दै आएका छन् । कृषि पेसाबाट नै मनग्य आम्दानी हुने भएपछि विदेश कमाउन गएका श्रीमानलाई समेत उनले अहिले विदेश जान नदिएर कृषि पेसामै लगाएकी छिन् । एउटा छोरा र एउटी छोरी छन् । छोरोलाई पनि किसान नै बनाउने सोचले जेटीए पढाएको उनले सुनाइन् । छोरीलाई पनि एसईई दिएपछि जेटीए नै पढाउने सोच रहेको उनले बताइन् । श्रीमानले वर्षौसम्म विदेशमा रगत पसिना बगाएर कमाएको भन्दा घरमै कृषि पेसाबाट आफूले राम्रो आमदानी गरेकाले श्रीमान्लाई विदेश जान नदिएको उनको भनाइ छ । सिजन अनुसारको तरकारी खेती समेत उनले गर्दै आएकी छन् । तरकारी खेती गरेर समेत उनले एक सिजनमा ७० हजारसम्म आम्दानी गर्दै आएको नारायणी अनलाइनलाई सुनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>