समाचार
जनकपुरमा साधुको भेषमा बालिकामाथि यौन दुर्व्यवहार

जनकपुर, असार २२-
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ । मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए। ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप लागेको छ।
रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवल भारत घर भएका शिवशंकरलाई ५ वर्ष अगाडि तुलसी स्मारकमा पूजाआजा गर्ने जिम्मेवारी दिएका थिए । साधुको भेष धारण गरेका शिवशंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको अभिभावकले भएका बताएका छन् ।
‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायौँ, पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाएका थियौं तर, रामानन्दीय वैष्णव संघका तत्कालीन अध्यक्ष वैकुण्ठले उनको बचाउ गरे।’ वैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे ।
हत्याकाण्डमा वैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् । वैकुण्ठ हाल फरार छन् । दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेकाअभिभावकहरुले दाबी छ ।
शनिबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारबाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको छ । आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन् ।
उपरीक्षक खनालले पीडित बालिकाहरुको बयानपछि मात्रै ती साधुमाथि अनुसन्धान सुरु हुने भन्दै अभिभावकलाई निवेदन दिन आग्रह गरेका छन्। आफ्नो दुष्कर्म सार्वजनिक भएको थाहा पाएपछि शिवशंकर दास फरार भएका छन् । उनी आइतबार बिहानैदेखि मन्दिरमा नरहेको स्थानीयले जानकारी दिएका छन् ।