चितवन विशेष
राप्ती नगरपालिकामा निर्माणाधीन जेपी मार्गको अनुगमन

राप्ती, असार १७-
राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ ।
राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो ।
चौकीडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगल टाँडीहुँदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरी कूल एक करोड लागतमा निर्माण भइरहेको उपप्रमुख लामाले जानकारी दिए । सो सडकको एक खण्डमा मंगलबारबाट आरसीसी ढलान सुरु गरिएको र एक सातामा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष रामबहादुर सारु मगरले जानकारी दिए ।
सडकमा ६ इन्च मोटाइ र ६ मिटर चौडाईको आरसीसी ढलान गरिएको छ । राप्ती नगरपालिकाको पहाडी वडाहरु १०, ११, १२ र १३ बाहेकका सबै वडामा आरसीसी ढलानसहितको सडक निर्माण तीव्र गतिमा भइरहेको उपप्रमुख लामाले बताए । नगरकै नमुनाको रुपमा लिइएको सडकलाई गुणस्तरिय र पक्की बनाउन आरसीसी ढलान गरिएको उनले बताए । दुई खण्डमा निर्माण भइरहेको जेपी मार्गका लागि रामबहादुर सारु मगर र लिलाराज बर्ताैलाको अध्यक्षतामा दुई वटा उपभोक्ता समिति गठन गरी धमाधम काम भइरहेको छ । सडकको कामहरु यसै आर्थिक वर्ष भित्र सकिनेछ ।