लुम्बिनी

दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

Banner

दाङ, असार १४-

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो । उक्त जीपमा अन्य तीन जना सवार रहे पनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रशासन प्रमुख सवार गाडी दुर्घटना

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

आज तुलसीपुुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते भएका छन् । उनलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। सुवेदीको टाउकोमा चोट लागेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>