कृषि

भरतपुर र माडीका भैँसीमा विश्वविद्यालयको अनुसन्धान, बेमौसममा गर्भाधान गरिने

Banner

नारायण अधिकारी

चितवन, असार १४

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम सुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भँैसीमा अनुसन्धान थालिएको हो ।

वैज्ञानिकहरुले चैत, वैशाख, जेठ र असार महिनामा कमै संख्यामा भैँसी ब्याउने भएकाले ती समयमा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ ।
विश्वविद्यालयमा यस विषयमा अनुसन्धान गरिरहेका प्राडा भूमिनन्दन देवकोटाका अनुसार माडीका २० जना कृषकका २५ वटा भैँसीमा बेमौसममा गर्भाधान गराइएको छ । भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरेका नौ वटा भैँसीमा पनि गर्भाधानको प्रक्रिया अघि बढाइएको छ । ती भैँसीको पाठेघरको मुखमा छुने गरेर प्रोजेस्टेरोन नामको हर्मन राखिएको छ ।

ती भैँसीलाई आउँदो सोमबार कृतिम गर्भाधान गराइने प्राडा देवकोटाले जानकारी दिए । विश्वविद्यालयको पशु प्रजनन् प्रविधि विभागले विश्वविद्यालय हाताभित्र अघिल्लो वर्ष १३ वटा भैँसीमा बेमौसममा गर्भाधान गराएकामा पाँचवटा भँैसी ब्याएका थिए ।

गतवर्ष विश्वविद्यालयभित्र ११ वटा भैँसीमा गर्भाधान गराइएकामा सात वटा ब्यायको देवकोटाले जानकारी दिए । मुख्य अनुसन्धानकर्ता देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो ।

भैँसीका प्रजनन् अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्माेन तयार गरी भैँसीलाई खुवाउदा सुख्खा मौसममा भैँसी प्रजनन्मा सहज भएको जानकारी दिँदै उनले उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गरे ।
हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको सक्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजनन् योग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा देवकोटाकाको भनाइ छ ।

साउनदेखि मङ्सिरसम्म भैँसीको प्रजनन्को हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवम् गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ ।

अनुसन्धानले नेपालमा भँैसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलब ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ ।

नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्याङ्क छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ । देवकोटाले निजी क्षेत्रका भँैसीमा बेमौसममा गर्भाधान गराउने प्रविधिलाई व्यापकता दिन सकेमा सबै मौसममा दूध उत्पादन गर्न सकिने बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>