नवलपुर
देवचुलीमा निःशुल्क दन्त शिविर

देवचुली, असार ४–
विभिन्न संघसंस्थाको आयोजनामा नवलपुरको देवचुलीमा बुधबार निःशुल्क दन्त शिविर गरिएको छ ।
रामबासमा रहेको भीमसेन आदर्श मा.वि.मा आयोजना गरिएको दन्त शिविरबाट दुई सय ७० जना विद्यार्थी लाभान्वित भएका छन् । भीमसेन हाईस्कुल एलुम्नाई एसोसिएसन, लायन्स क्लब अफ नारायणगढ़ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ़ नारायणी र रोट¥याक्ट क्लब अफ भरतपुरको आयोजना तथा स्कुल अफ डेन्टल, चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर गरिएको हो । चितवन मेडिकल कलेजका डेन्टल विभाग प्रमुख डा. हरेन्द्र सिंको नेतृत्वमा ९ जना डाक्टरहरुले दाँतको परीक्षण गरेका थिए ।
शिविरमा २७ जना विद्यार्थीको दाँतमा समस्या देखिएपछि दाँत निकालिएको थियो । बालबालिकाहरुमा दाँतको समस्या न्यूनीकरण गर्नका लागि शिविर आयोजना गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले बताए । कार्यक्रममा भीमसेन आदर्श मा.वि.का सहायक प्रधानाध्यापक अग्निधर भुसालले आयोजक तथा प्राविधिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका अध्यक्ष तथा समाजसेवी बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बलिराम सापकोटा, सहायक प्रधानाध्यापक अग्निधर भुसाल, भीमसेन हाईस्कुल एलुम्नाई एसोसिएसन (भीसान) का अध्यक्ष शेरबहादुर पौडेल र सोही विद्यालयका आधारभूत तह प्रमुख दोलकान्त अर्याललगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा भीसानको पहलमा ग्रेस इन्टरनेशनलले देवचुली–१२ लक्ष्मीपुरको खेलकुद समितिलाई १६ वटा फुटबल जर्सी र २ वटा फुटबल वितरण गरेको थियो । ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेसन चितवनका प्रमुख गणेश लामिछानेले खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन् ।