देश/प्रदेश
माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा बेपत्ता

उदयपुर, असार ४-
लिम्चुबुङ गाउँपालिकामा सुनकोसी नदीले बगाएर बुधबार दुई विद्यार्थी वेपत्ता भएका छन्।
सुनकोसीमा माछा मार्नेक्रममा ज्यामिरे पुगेका सोही गाउँपालिका १ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपता भएका हुन्।
देवकुमार माध्यमिक विद्यालय बुतकुबाट यसै वर्ष एसईई परीक्षा दिएका हुन् भने प्रविण सोही विद्यालयमा कक्षा ९ का विद्यार्थी हुन्। बेपत्ता भएकाको खोजी जारी राखिएको स्थानीय तथा गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिइन् । प्रहरीले भने घटनाबारे कुनै जानकारी नआएको बताएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आफूले पनि हल्ला मात्रै सुनेको र घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लिम्चुङ्गबुङ्गलाई आदेश दिएको बताए। घटनास्थल र इलाका प्रहरी कार्यालय झन्डैं दुई घण्टाको दूरीमा पर्छ।