लुम्बिनी

घोराहीले सिकलसेल बिरामीको निःशुल्क उपचार गर्ने

Banner

घोराही, असार ३-

घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोहीअनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि निःशुल्क शिविर आयोजना गरिएको उपमहानरले जनाएको छ ।

स्वास्थ्य शाखाले रामपुर, नारायणपुर र सौडियारमा एक÷एक दिन शिबिरमार्फत स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । प्रायः थारू समुदायका व्यक्तिमा उक्त रोग देखिएकाले सोही समूदायलाई नै प्राथमिकतामा राखेर जाँच गरिने उनको भनाइ थियो ।तीन दिनमा करीब एक हजार व्यक्तिको प्रारम्भिक जाँच गर्ने र आवश्यक परामर्श तथा उपचार गर्नुपर्ने भए सम्बन्धित अस्पतालमा पठाइने गरी तयारी भएको उपमहानगरपालिकाका डा प्रभात रिजालले जानकारी दिए । नेपालमा थारू समुदायमा देखिने उक्त रोग वंशाणुगत कारणले हुने गरेको डा रिजालले बताए । उनका अनुसार अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल बिरामीको निःशुल्क उपचारको व्यवस्था भए पनि नियमित नभएको बिरामीले गुनासो गरेपछि उपमहानगरले सिकलसेल बिरामीको जिम्मेवारी लिएको हो ।

नगरप्रमुख नरुलाल चौधरीले सो रोगका विषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको हुँदा आफूहरुले सिकलसेलका बिरामीको उपचारलाई प्राथमिकतामा राखेकोे जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>