गण्डकी

प्रस्तावित गण्डकी विश्वविद्यालयलाई १० करोड

Banner

तनहुँ, असार ३-

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६\७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि १० करोड ४० लाख बजेट विनियोजन गरेका हुन् ।

उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै आएका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि सुरु हुने जानकारी दिँदै भनेका थिए, ‘विश्वविद्यालय स्थापनाका लागि आठ अर्ब बजेट अनुमान गरिएको छ । आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने तयारीमा छौँ ।’

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ ।

विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा डा गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाaई बुझाएको थियो । विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ ।

स्थानीयवासी खुशी

शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुने खबरले स्थानीयवासी खुशी भएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुसीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>