लुम्बिनी

स्थानिय सरकारः गाउँघरमै रोजगारी

Banner

बाँके,असार २-

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आफ्नो गाउँमै रोजगारी पाउँदा बाँकेको बैजनाथ गाउँपालिकाका महिला उत्साहित भएका छन् । “सधैँ घर खर्च चलाउन श्रीमान्को भर पर्नुपथ्र्यो”, बैजनाथ गाउँपालिका- १ चिसापानीकी ललिता तिरुवाले भन्नुभयो, “अब आँफैले काम गरेर नून, तेलको खर्च जोहो गर्ने गर्ने अवसर पाएकी छु । आफ्नै घर आँगनमै रोजगारी पाउँदा आफूलाई निकै खुशी लागेको उहाँले बताउनुभयो ।

रोजगार समूहकी अगुवासमेत रहनुभएकी उहाँले आफ्नो क्षमताले भ्याएसम्म अन्य महिला दिदीबहिनीलाई काममा परिचालन गरेर उदाहरणीय काम गर्ने जानकारी दिनुभयो । सोही गाउँपालिकाकै वडा नं ६, अठ्ठाइस गाउँकी लक्ष्मी शाहीले उक्त कार्यक्रमले घरको चुलोचौकामा मात्र सीमित महिलालाई सामाजिक कार्यक्रममा अग्रसर हुने अवसर दिएको बताउनुहुन्छ । “बल्ल हामीलाई सरकार भएको अनुभूति भएको छ” ,उहाँले भन्नुभयो, “यो कार्यक्रमले महिलालाई आर्थिकरुपमा सबल बनाउने आशा गरेकी छु ।”

परिवारको आर्थिक अवस्था र रोजगारी नै नभएको परिवार र महिलालाई मुख्य प्राथमिकता दिइएको बैजनाथ- ६ की कार्यवाहक वडाध्यक्ष पुतली हमालले बताउनुभयो । गाउँपालिकामा महिला बेरोजगारको सङ्ख्या बढिरहेको र पुरुषभन्दा महिला सक्रियरुपमा काम गर्ने भएकाले कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास थियो ।

जिल्लाका दुई स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाले रोजगार पाएका छन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले सडक निर्माण, खानेपानी लाइन विस्तार र सडक सरसफाइमा बेरोजगार युवालाई रोजगार प्रदान गरेका छन् ।

उक्त गाउँपालिकाले २०० र कोहलपुर नगरपालिकाले ५८ बेरोजगार युवायुवतीलाई पहिलो चरणमा रोजगार प्रदान गरेका हुन् । सो कार्यक्रमअन्तर्गत बेरोजगारले सडक निर्माण र खानेपानीको लाइन बिस्तार गर्ने काम पाएका छन् । गाउँपालिकाका– ८ वडाका २०० बेरोजगार युवायुवतीले पहिलो चरणमा एकमहीने रोजगारीका लागि वडामा बाटो मर्मत तथा खानेपानीको लाइन बिस्तार गर्ने काम दिइएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको सात वडामा बाटो मर्मत गरिने छ, भने वडा नं ४ मा खानेपानीको लाइन बिस्तार गरिनेछ । शनिबारदेखि गाउँपालिकाभर एकैसाथ उक्त कार्यक्रम शुरुआत गरिएको हो । प्रत्येक वडामा २५ जनाका दरले रोजगारी प्रदान गरिएको अध्यक्ष रुचालले बताउनुभयो ।

सबैलाई रोजगारी उपलब्ध गराउन पहिलो चरणमा प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिएको र आगामी वर्ष यसलाई बिस्तार गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । कोहलपुर नगरपालिकाले ५८ युवालाई रोजगार दिएको छ । पहिलो चरणमा पाँच वडाका बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिलो चरणमा वडा नं ३, ८, ११, १२ र १३ का युवालाई एक महीनाका लागि रोजगार प्रदान गरिएको छ । रोजगारीका लागि छनोट गरिएका युवालाई शुरुआती चरणमा सरसफाइ कार्यमा खटाइएको छ । यसपछि वडा कार्यालयबाट आएका योजनाका आधारमा काममा खटाइने छ ।

रोजगार अधिकृत थापाले युवाको योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बताउनुभयो । उहाँका अनुसार, धेरैजसो युवालाई विकास निर्माणमा खटाइने छ भने पढेलेखेका युवालाई कार्यालयको काममा खटाइने छ ।

कोहलपुर नगरपालिकामा पाँच हजार २५ जनाले बेराजगार फाराम भरेका छन् । तीमध्ये विपन्न, अल्पसङ्ख्यक, सीमान्तकृत र पिछाडिएका समुदायको युवालाई छनोट गरी रोजगार दिइएको नगरप्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि रोजगारी दिने तयारी गरेको छ । उपमहानगरका रोजगार अधिकृत हरिबोल भट्टराईले वडाबाट योजना माग गरिएको जानकारी दिनुभयो । बाँकेका जानकी र खजुरा गाउँपालिकाले पनि हप्तादिनभित्र रोजगारी दिनेगरी तयारी गरेका छन् । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले रोजगारी दिने कामको योजना बनाउने काम भइरहेको बताउनुभयो ।

विनियोजित बजेटको २५ प्रतिशत रकम सामग्री खरीद र ७० प्रतिशत रकम ज्यालामा छुट्याउनुपर्ने भएकाले योजना छनोटमा अलमल भएको बताउनुभयो । चालू आर्थिक वर्षमा बाँकेमा एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् । सरकारले यही आर्थिक वर्षभित्र बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो ।

बाँकेमा सबैभन्दा बढीले रोजगारी पाउने स्थानीय तहमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ । यहाँ ४५१ जनाले रोजगारी पाउने भएका छन् भने दोस्रोमा कोहलपुर नगरपालिकामा ३११ जनाले रोजगारी पाउने भएका छन् । पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने स्थिति अन्त्य गर्ने लक्ष्यका साथ सरकारले शुरु गरेको यस कार्यक्रमअन्तर्गत बैजनाथमा गाउँपालिका २२६, राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा १४०, जानकीमा १४० र नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

कार्यक्रम कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकामा रु एक करोड, कोहलपुर नगरपालिकामा रु ६९ लाख, बैजनाथ गाउँपालिकामा रु ५० लाख, राप्तीसोनारी गाउँपालिकामा रु ५० लाख, खजुरा गाउँपालिकामा रु ४७ लाख, डुडुवा गाउँपालिकामा रु ३१ लाख, जानकी गाउँपालिकामा रु ३१ लाख र नरैनापुर गाउँपालिकामा रु २८ लाख रकम विनियोजन भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>