गण्डकी

सङ्कटमा पर्दै संसारकै गहिरो अन्धगल्छी

Banner

धुब्रसागर शर्मा

गलेश्वर, असार १

एशिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो ? नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाजिरी जवाफमा पटक÷पटक सोधिने प्रश्नमध्ये यो एक हो ।

नेपालमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययरत विद्यार्थी र विभिन्न प्रतियोगितामा सोधिने यस प्रश्नको ठीक उत्तर हुन्छ, ‘अन्धगल्छी’ । म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेका अन्धगल्छीको विश्वभर चर्चा भइरहेको छ ।

मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरना मुस्ताङ आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि पहिलो आकर्षण हुनेगर्छन् । शालिग्राम पाइने विश्वको एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराइ ६ हजार ९६७ मिटर छ । संसारको सातौं अग्लो शिखर धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा पर्ने गल्छी समुद्र सतहबाट एक हजार २०० मिटरमा अवस्थित छ । गल्छी अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक दैनिक यहाँ जाने गरेका छन् ।

तर, पछिल्लो समय कालीगण्डकी करिडोर निर्माण गर्ने क्रममा दानाको काभ्रे भीरमा सडक फराकिलो गराउनुपर्ने र त्यहाँबाट निस्कने ढुङ्गा, माटो, गेगरलगायतका अन्य वस्तु सिधँै कालीगण्डकी र अन्धगल्छीमा गएर थुप्रिने हुँदा अन्धगल्छीको मौलिकस्वरुप बिग्रदै गएकोमा स्थानीय तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुङ्गा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा गण्डकी प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजका काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुङ्गा माटो खसाल्ने गरेको अन्धगल्छी संरक्षण उपभोक्ता समितिका सचिव सुनिल पाईजाले बताउनुभयो ।

अन्नपूर्ण पदमार्ग, मुस्ताङको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्ने गरेका छन् । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाए पनि बजेट अभावमा ती भौतिक पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेको अन्धगल्छीको सिरानमा रेष्टुरेण्ट संचालन गर्नुभएका सुवर्ण केसीले बताउनुभयो ।

विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बत्बाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ ।

अन्धगल्छीदेखि केहीमाथि रहेको मनै लोभ्याउने सुन्दर प्राकृतिक रुप्से छहरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, मनमोहक र आकर्षक छ । यो छहरा समुद्र सतहबाट झण्डै एक हजार ८०० मिटर उचाइमा छ । सरकारले छहराको हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ ।
बेनीबजारबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्ने रुप्से छहरा र अन्धगल्छी पुग्न करीब एक दिनको पैदलयात्रा गर्नुपर्छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत तीन घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटक सवारी रोकेर झरनामा तस्बिर खिचाउँछन् ।

गल्छीको अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटकसमेत पुग्छन् । संसारकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरउन्नतीको क्रममा मुख्य आर्कषक मानिएको भागको आधा पुरिएको छ ।

रुप्से झरना र अन्धगल्छी विश्वकै नमूना पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जलविद्युत् आयोजना बनाउने र सडक विस्तार गदै गल्छीको नाश गर्न खोजिएको स्थानीयवासीको आरोप छ । यता शर्मा गजुरमुखी जेभीले सडक विस्तारमा अन्धगल्छीलाई जोगाउने प्रयास भइरहेको दाबी गरेको छ । माटोलाई बर्खामा बगाउने र साना ढुङ्गाले असर नगर्ने दाबी शर्मा गजुरमुखी जेभीको छ ।
दुलर्भ शालिग्राम पाइने एकमात्र नदी कालिगण्डलाई मुक्तिनाथदेखि देवघाटसम्म संरक्षण गरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिने गरिएको छ ।

पर्यटन कार्यालय पोखराले गल्छी आसपासका क्षेत्रको संरक्षणका लागि विनियोजन गरिएको बजेटमा स्थानीयवासीले काम गरिरहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>