गण्डकी

दमौलीका स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा

Banner

कृष्ण न्यौपाने

दमौली जेठ २८

स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
तनहुँका दश स्थानीय तहका ८५ वडामध्ये ४२ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा कार्यालय सहयोगी र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । कर्मचारीको अभाव भएपछि भिमाद नगरपालिकाले कार्यालय सहयोगीलाई वडामा सचिव सरहको जिम्मेवारी दिएर खटाएको छ । बन्दीपुर गाउँपालिकाले पनि तत्कालीन गाविसका प्रशासन शाखाका सहायक र सामाजिक परिचालकलाई वडा सचिवका रुपमा खटाएको छ ।

घिरिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाको एउटा वडामा पनि सचिव छैनन् । अन्य स्थानीय तहका अधिकांश वडा सचिवविहीन छ । कर्मचारी अभावका कारण एउटै सचिवले तीन वटासम्म वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता छ ।

दक्षिण भेगमा रहेको घिरिङ गाउँपालिकाका पाँच वटा वडामा एक जना पनि सचिव छैनन् । गाउँपालिका कार्यालयमा नै कार्यरत रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष रनबहादुर राना बताउछन ।

उनका अनुसार कर्मचारी अभावले प्रशासनिक कामसँगै विकास निर्माणको काममा प्रभाव परेको छ । उनले भने, “कर्मचारी अभावले गाउँपालिकालाई त समस्या छ नै, सेवा लिन आउने सेवाग्राहीलाई झन बढी समस्या भइरहेको छ ।” उनका अनुसार एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको कार्यालयमा बसेर नै सेवा प्रवाह गर्नु परेको छ । उनले भने, “सिहंदरबारको अधिकार गाउँमा आयो भन्ने नारा त भयो, तर वास्तविकतामा त्यस्तो छैन ।”

बन्दीपुर गाउँपालिकामा ६ वटै वडामा सचिव छैनन् । काम प्रभावित नहोस् भनेर तत्कालीन गाविसका प्रशासन सहायक र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउछन ।

भानु नगरपालिकाको १३ वडामध्ये चार वडामा मात्रै सचिव छन् । तीमध्ये एक जना समायोजन भएर जाँदैछन् । बाँकी तीन जना सचिवले नै सबै वडाको कार्यसम्पादन गर्नु परेको नगरप्रमुख उदयराज गौली बताउछन । गौलीले भन्नुभयो, “व्यक्तिगत घटना दर्ताका लागि वडामै पुग्नुपर्ने हुन्छ । जुन वडाबाट फोन आउँछ कर्मचारीहरु त्यही पुग्ने गरेका छन।” उनले वडामा सम्पन्न भएका योजनामा भुक्तानीका लागि वडाको सिफारिश आवश्यक पर्ने भएकाले एक जनालाई धेरै वडाको कार्यभार सम्हाल्नु परेको बताए।

रिसिङ गाउँपालिकाको ८ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार जनतालाई सास्ती नहोस् भनेर स्वास्थ्य शाखाको कर्मचारीलाई वडा सचिव बनाएर खटाइएको छ । कर्मचारी समायोजन भएर गएपछि यस्तो समस्या आएको उनको गुनासो छ ।

आँबुखैरेनी गाउँपालिकाको ६ वडामध्ये २ वडामा मात्रै सचिव छन् । बाँकी वडामा स्वास्थ्य, कृषि र गाउँपालिकाका पुराना कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा बताउछन। उनले भने, “कर्मचारी अभावमा जसोतसो व्यवस्थापन त गरेकै छौँ । तर वास्तविक रुपमा काम गर्न भने निकै अप्ठ्यारो भएको महसुस भएको छ ।”

देवघाट गाउँपालिकाको ५ वडामध्ये २ वडामा मात्रै सचिव छन् । ती दुई जना सचिवले नै भागबण्डा लगाएर सबै वडाको काम गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष विमला थापाले बताए । उनले भने, “हप्ता÷हप्तामा पालो मिलाएर वडामा सचिव खटाइएको छ । कर्मचारी अभावमा गाउँपालिकाले सम्पादन गर्ने काम प्रभावित भइरहेको छ ।”

भिमाद नगरपालिकाको ९ वडामध्ये ३ वडामा सचिव छन् । बाँकी वडामा कम्प्युटर चलाउन सक्ने कार्यालय सहयोगी राखेर काम चलाइएको नगरप्रमुख मेखबहादुर थापाले बताए। उनका अनुसार जसोतसो काम चले पनि कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो व्यास नगरपालिकामा भने १४ वडामा नै सचिव छन् । सङ्घ र प्रदेशमा समायोजन भएर कर्मचारी गए पनि स्थानीय तहका नासु र खरिदारलाई वडा सचिवको जिम्मेवारी दिएर खटाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले अहिलेसम्म सेवा प्रवाहमा कुनै समस्या नआएको बताउछन।

म्याग्दे गाउँपालिकाको ७ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । अन्य वडामा गाउँपालिकाको कर्मचारीलाई खटाइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । केही समय अगाडिसम्म कार्यालय सहयोगी र सामाजिक परिचालकलाई सचिवको जिम्मेवारी दिएको शुक्लागण्डकी नगरपालिकामा भने कर्मचारी समायोजनसँगै सबै वडामा सचिवको पदपूर्ति भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>