गण्डकी

गण्डकी प्रदेशः छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

Banner

पोखरा, जेठ २५–

गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

उनका अनुसार स्याङ्जा जिल्लास्थित कालीगण्डकी नदीमा खसेर अर्की एक युवतीको ज्यान गएको छ । कालीगण्डकी नदी किनारामा रहेको गुठी मन्दिर नजिक हातखट्टा धुने क्रममा अचानक नदीमा खस्दा कालीगण्डकी गाउँपालिका–२ भुरडाँडाकी २५ वर्षीया मीना थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>