देश/प्रदेश

३ नं. प्रदेशको नाम नेवाः तामसालिङ हुने दावी

Banner

काठमाडौं, जेठ २५–

प्रदेशसभामा प्रदेशको नाम नेवाः–तामसालिङ राख्नुपर्ने भनी प्रस्ताव दर्ता गरेका प्रस्तावक र समर्थकहरुले ३ नं. प्रदेशको नाम नेवाः–तामसालिङ रहने दावी गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले आफ्नो प्रस्ताव पारित हुने र प्रदेशको नाम नेवाः–तामसालिङ रहने दावी गरेका हुन् ।

प्रदेशसभा सदस्यहरु ओमबहादुर घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक र रत्नप्रसाद ढकाल, सिता अधिकारी र प्रेमबहादुर तामाङ समर्थक रहेर नेवाः ताम्सालिङ नामाकारण गर्न जेठ ९ गते नै प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेका छन् । अहिलेसम्म प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर राख्न माग गर्दै प्रदेशसभा सदस्यहरुले तीनवटा प्रस्ताव दर्ता गरेका छन् ।

पत्रकार सम्मेलनमा नेवाः–तामसालिङको प्रस्तावक र समर्थकहरुले आफ्नो प्रस्ताव नै सबैभन्दा बढी वैज्ञानिक र व्यवाहारिक भएको दावी गर्दै पारित हुने दावी गरे । समर्थक प्रदेशसभा सदस्य रत्न ढकालले नेवाः तामसालिङ जस्ता एजेण्डाबाटै नेपालमा गणतन्त्र लगायतका परिवर्तन आएकाले आफूहरुको प्रस्ताव सहि रहेको दावी गरे ।

‘संघीयता त धेरै देशमा अभ्यास भएकै छन् । हामीले भनेको संघीयता पहिचान सहितको हो । वागमती, पशुपतिनाथ, स्वयम्भुनाथको आफ्नै पहिचान छन्, तीनको पहिचान स्थापित गर्नुपर्दैन’, उनले भने, ‘नेवाः तामसालिङको आधार बनाएर नेपालमा गणतन्त्र आएको हो । यसको आधार र यो प्रदेशमा रहेका उत्पीडित समुदाय १७ प्रतिशत नेवाः र २० प्रतिशतको पहिचान र भूगोलको सभ्यताका लागि पनि यो प्रदेशको नाम नेवाः–तामसालिङ राखिनुपर्दछ ।’

प्रस्ताव प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले आफूहरुले दर्ता गरेको प्रस्ताव दर्ताका लागि दर्तामात्र नभएर पास हुने दावी गरिन् । आदिवासी जनजातिको बाहुल्य रहेको यो प्रदेशमा नेवाः र तामाङको बाहुल्यता रहेको भन्दै उनले जनस्तरमा निरन्तर उठ्दै आएको मागको सम्बोधन पनि प्रदेशको नाम नेवाः–ताम्सालिङ राखेर हुने बताईन् ।

प्रस्तावको समर्थक रहेकी प्रदेशसभा सदस्य सीता अधिकारीले ऐतिहासिक सभ्यता नेवाः र तामाङ समुदाय रहेको भन्दै पहिचानमा आधारित नामाकरण गरेर अघि बढ्न सबैमा आव्हान गरिन् । नेवाः तामसालिङ संघर्ष समितिको व्यवस्थापनमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ् नेकपाका केन्द्रीय नेता र नेवाः तामसालिङ संघर्ष समितिका नेताहरुको समेत सहभागिता थियो ।

यस्तो दावी छ प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्नुपर्ने आधार

जेठ ९ गते प्रदेशसभामा दर्ता गरिएको प्रस्तावमा प्रदेशको नाम नेवाः–तामसालिङ राख्नुपर्नुका विभिन्न आधारहरु प्रस्तुत गरिएका छन् । उनीहरुले प्रस्तुत गरेको पहिलो आधारमा ‘संविधानसभाद्वारा सर्वसम्मतिले पारित तथा दोस्रो संविधानसभाद्वारा संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामथ्र्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्न’ का लागि पनि नेवाः–ताम्सालिङ नामाकरण गर्नु उचित हुने भनिएको छ ।

त्यस्तै, ‘दोस्रो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरुले पहिलो संविधानसभाद्वारा दिइएको म्याण्डेटलाई आधार बनाउँदै आफ्नो घोषणापत्रमार्फत पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने, बहुपहिचान तथा पहिचानसहितको संघीयताको नारा लगाएको र उक्त नारालाई नेपाली जनताले अत्यधिक बहुमतका साथ निर्वाचनमा मत जाहेर गरी अनुमोदन गरेको तथ्यलाई स्मरण गर्दै नेवाः ताम्सालिङ नाम उचित हुने’ प्रस्तावमा जिकिर गरिएको छ ।

प्रदेश ३ क्षेत्रमा नेवार र तामाङ समुदायको मुख्य बाहुल्य एवं सांस्कृतिक भूगोल तथा ऐतिहासिक क्षेत्र मिलाएको तथ्य प्रस्तुत गर्दै ती सांसदहरुले नेवाः ताम्सालिङ नामाकरण गर्न प्रस्ताव गरेको छ ।

नेवाः ताम्सालिङ नामाकरणका लागि नौं बुँदे आधार र कारण प्रस्तुत गर्दै सांसदहरुले बुझाएको प्रस्तावबारे अहिलेसम्म कुनै छलफल भने भएको छैन । ती सांसदहरुले जनतासमक्ष आफूहरुले ३ नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्नाको कारणबारे सार्वजनिक रुपमा अभियान नै सञ्चालन गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>