प्रदेश १

झापाको भारतीय सीमा क्षेत्रमा १७३ वटा सीमास्तम्भ गायब

Banner

विराटनगर, जेठ २५-

नेपाल र भारत सीमास्तम्भ झापासँग जोडिएका क्षेत्रमा बढी हराएका छन् ।

विराटनगरमा शुक्रबार बसेको नेपाल–भारत संयुक्त सर्भे टिमको बैठकमा प्रस्तुत तथ्यांकअनुसार झापासँग सिमाना जोडिएको क्षेत्रमा सबैभन्दा बढी सीमास्तम्भ हराएको हो ।

नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले झापामा १७३ वटा स्तम्भ हराएको बताए। ‘हराएका सबै स्तम्भ पुनर्निर्माण गरिएका छन्’, लम्सालले भने, ‘सुनसरी र मोरङको सीमा क्षेत्रमा पनि ३ र ३ वटा सीमास्तम्भ निर्माण गरिएका छन् ।’ झापाको मेची नगरपालिकास्थित वाहुनडाँगीबाट हराएका र भत्किएका स्तम्भको निर्माण गत वर्ष सुरु गरिएको थियो । प्रमुख लम्सालका अनुसार निर्माण भएको स्तम्भ खोला, नाला र पानी जमेको स्थानमा बढी छन् । सीमा क्षेत्रमा रहेको खोलाका सीमामा राखिएको पिलर मिसिङको समस्या बढी भएकाले सुखायामा निर्माण सम्पन गरिएको उनको भनाइ छ । हालसम्म १७९ वटा सीमास्तम्भ निर्माण गरिएका छन् ।

प्रदेश १ का ताप्लेजुङ, पाँचथर र इलामको भारतीय सीमा क्षेत्रमा रहेको स्तम्भ पुनर्निर्माण तथा मर्मत हालसम्म नभएको लम्सालले जानकारी दिए । सीमास्तम्भ निर्माण गर्ने बैठकमा दार्जिलिङ र सिलिगुडीका सुरक्षा निकाय नआएकाले ती क्षेत्रमा स्तम्भ निर्माण गर्न नसकिएको हो। शुक्रबार विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सर्वे टिमको दोस्रो बैठकले आगामी दिनमा सीमास्तम्भ निर्माण र मर्मतलाई निरन्तरता दिने निर्णय गरेको छ ।

टिमले नेपाल–भारत सीमास्तम्भ पुर्वेक्षण, सर्वेक्षण, मर्मत र नयाँ सीमास्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको छ । यसअघि पहिलो बैठक भारत विहारको सुपोल जिल्लासिथ्त विरपुरमा पुसमा भएको थियो । शुक्रबार विराटनगरमा सम्पन्न बैठकमा प्रदेश १ को झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, नापी विभाग र वन विभागका पदाधिकारीसहित भारतको विहार राज्य अन्तर्गतका अररिया, सुपौलका डिएमसहित उच्च सुरक्षा अधिकारी र किशनगंज जिल्लाका सीमा सुरक्षा बलका पदाधिकारी सहभागी थिए ।

बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार नेपाली पक्षले सीमाको बेजोर अंकको स्तम्भ निर्माण गर्दै आएका छन् भने भारतले जोर अंकको स्तम्भ निर्माण र मर्मत काम गर्दै आएको छ । भारतको तर्फबाट सर्वेक्षक र सीमासुरक्षा बलले स्तम्भ निर्माण गर्दे आएको छ भने नेपालतर्फ नापी विभागले स्तम्भ निर्माण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>