गण्डकी
गैँडाकोटमा अमेरिकन फौजी कीराको आक्रमणबाट मकैबाली सखाप, किसान चिन्तामा

सुरज पौडेल
नवलपुर, जेठ २०-
गैँडाकोट नगरपालिका –५ मा देखा परेको समान्य जस्तै देखिने कीरा अमेरिकन फौजी कीरा भएको पुष्टी भएको छ ।
उक्त किराले अहिले गैँडाकोट नगरपालिकाको वडा नं. ४ र ६ मो मकै बालीमा क्षति पुर्याएको छ । किसानले मकै लगाएको १५ देखि २० दिन भित्रमा यस्तो कीरा देखिएको स्थानीयले बताएका छन् । मकै लगाएर एकोहोरो खन्ने समयमा यो कीरा देखिएपछि गैँडाकोको कृषि शाखा अनुगमनमा निस्केको हो । जसले अमेरिकन फौजी कीरा भएको पुष्टी गरेको छ ।
गैंडाकोट नगरपालिका–५ को गणेश मन्दिर परिसर र भवानी टोलमा यो कीराले धेरै क्षति पु¥याएको छ । भवानी टोल निवासी स्थानीय किसान टीकाराम अधिकारीले लगाएको १० कठ्ठा जग्गामा लगाएको पूरै मकैमा कीराले आक्रमण गरेको बताए । सोमबार गण्डकी प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि सेवा अधिकृत शशी अधिकारीले यस्तो कीरा लागेको विषयमा आफूले मन्त्रालयमा जानाकारी दिएको बताइन् । त्यस्तै, गैँडाकोट नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्माले यसको निराकरणका लागि नगरपालिकाको कृषि शाखाबाट निःशुल्क विषादी वितरण गरिएको जनाउँदै यसको सुमुचित प्रयोग गर्न आग्रह गरे ।
त्यस्तै कृषि प्राविधिक विनिता केसीका अनुसार यो कीराको संक्रमण भएमा साइफर मेथि क्लोरोपाइरिपस विषादीको प्रयोगले हप्ता दिन भित्र निर्मुल पार्न सकिने बताइन् । कीराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त विषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी कीराले भविष्यमा बिकराल रुप लिन सक्ने खतरा रहेकोले किसानलाई सचेत रहन आग्रह पनि गरे । सुख्खा मौसममा यो कीरा बढी संक्रमित हुने गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त कीट विज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले नवलपरासी जिल्लाको गैँडाकोट क्षेत्रबाट यही वैशाख २६ गते नेपाल पहिलो पटक आक्रमणकारी अमेरिकन फौजी कीरा भेटिएको जानाएको हो ।
अमेरिकी महादेश बाहिर अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन् २०१६ को जनवरी महिनामा देखा परे पश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ भने एशिया महादेशमा पहिलो पटक सन २०१८ को मई महिनामा भारतको कर्नाटक राज्यमा उक्त कीरा भेटिएको थियो । तत्पश्चात अमेरिकन फौजी कीरा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड तथा चीनमा समेत भेटिसकेको छ ।