प्रदेश २

आँधी प्रभावितको दुःखेसो : सेनाले बनाउने घरमा अटिदैन, कहाँ बस्ने ?

Banner

२५ बैशाख, वीरगञ्ज

वैशाख २१ गते उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुले आँधी प्रभावित बारा र पर्साका बासिन्दाको घर निर्माणको शिलान्यास गरे । सेनाले प्रभावित क्षेत्रमा दुई वटा कोठा, भान्साकोठा र शौचालयसहितको घर बनाउनेछ ।

तर फेटा गाउँपालिका ६ पुरैनियाका अइनुल हक मियाँ अन्सारी र फिरोज अन्सारी दाजुभाइले घर निर्माण गर्न थालेको १० दिन भइसकेको छ । उनीहरुले घर बनाउन सरकारलाई कुरेर बस्नु उचित ठानेनन् । ६ कोठाको घरको जग खनेर पिलर उठाउने काममा उनीहरु खटिएका छन् ।

आँधीले फिरोजको ६ वर्षको छोरा फैयाज अन्सारीको ज्यान लिनुको साथै हजुरबुवालाई घाइते बनायो ।

अइनुल हक मियाँ अन्सारीको छोरा मुमताजले सेनाले बनाउने घरले आफूहरुलाई नपुग्ने बताए । ‘सरकार जुन घर बनाउँछ । बलियो पनि छैन, त्यो टिनको छाना छ, हावाहुरी आयो भने उडाएर लैजान्छ । हाम्रो परिवार ठूलो छ, त्यसले पुग्दैन’ उनले भने ।

मुमताज दाङ तुलसीपुरमा कक्षा १० मा अध्ययनरत छन् । आँधीले घरमा विपत्ति ल्याएपछि घर आएका उनी घर निर्माणमा अभिभावकलाई सघाउँदैछन् ।

आमा जयमुल नेसा घाममा टेन्टमा बस्न कठिन रहेको बताउँछिन् । ‘ठूलै घर थियो, मालसमान राख्ने ठाउँ थियो, हावाहुरीले सबै खत्तम गरिदियो । सुन्दैछु, सरकारले सानो घर बनाउँदैछ, त्यसमा हाम्रो गुजारा हुँदैन, कति सोच्ने ? बालबालिकालाई बस्ने ठाउँ छैन, दिनभरी घाममा मरुला जस्तै हुन्छ, बच्चा लिएर कहाँ जाने ?’ उनले भनिन् ।

घर निर्माणका लागि उनीहरुले जग्गा धितो राखेर ६ लाख ऋण लिएका छन् भने आफन्त र साथीहरुसँग सापटी लिएका छन् । फिरोज अन्सारीलाई छोरा वितेको चिन्तासँगै बाँकीलाई कसरी जोगाउने चिन्ता छ । आकाशमा कालो बादल मडारिन थालेपछि उनको सातो जान्छ । ‘ ‘छोरा वित्यो, घर पनि ढल्यो, १२ जनाको परिवार छ । सेनाले बनाउने घरले हामीलाई पुग्दैन’ फिरोजले भने ।

सफिक अन्सारीलाई सेनाले कस्तो घर बनाउँदैछ भन्ने पनि थाहा छैन । अन्सारी परिवारकै सदस्य कमरुल नेशा सेना सेनाले बनाउने घरमा परिवार नअट्ने बताउँछिन् । ‘दुईवटा टेन्ट मिलेको थियो, एउटा आँधीले उडाएर लग्यो । सेनाले सानो घर बनाउँदैछ भन्ने सुनेको छु’ उनले भनिन् ‘५ भाइको २५ जनाको परिवार छ । ५ भाइलाई कम्तीमा एक एक कोठा त चाहिन्छ नि । कसरी पुग्छ सानो घरमा ?’

ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र साह सरकारले हतारमा निर्णय गरेर गल्ती गरेको बताउँछन् । ‘एकीकृत बस्तीको मोडेलमा जान सकेको भए राम्रो हुन्थ्यो । सरकारले हतारमा निर्णय गरेको छ’ उनले भने ‘एक त घरको डिजाइन पनि तराई मधेसको हावापानी सुहाउँदो छैन । यहाँ अझैपनि संयुक्त परिवार बस्ने चलन छ । एकै जनाको पनि धेरै सन्तान हुन्छन्, त्यति सानो घरमा एउटा परिवार पनि अट्दैनन् ।’

नेपाली सेनाले पूर्वाधार निर्माणको मात्रै जिम्मेवारी पाएको छ । सेनालाई सहज रुपमा काम सम्पन्न गर्न आवश्यक सहयोग गर्नेगरी प्रदेश २ का मुख्य सचिवको संयोजकत्वमा ५ सदस्यीय घर पुनर्स्थापना तथा घर पुनर्निर्माण सहजीकरण र समन्वय समिति गठन भएको छ । बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र सहरी विकास मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।

नेपाली सेनाले १२ वटा क्लष्टर बनाएर काम गरिरहेको छ । नेपाली सेनाका अनुसार त्यसलाई सहयोग गर्न स-साना कार्यदल पनि छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डे वर्षअघि नै भौतिक निर्माण्को काम सक्ने योजना रहेको बताउँछन् । उनले भने ‘काम गर्दा जति पनि समस्या आउँछ, प्रदेश सचिव ज्युको अध्यक्षतामा गठित समितिले समाधान गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>