पत्रपत्रिका

लिबियाको सुरक्षा जिम्मा नेपाली सेनालाई, अमेरिकी र भारतीय सेना हटाइयो

Banner

काठमाडौं–अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यन्त्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारणले भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।

लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेको नागरिक दैनिकमा खबर छ । राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले बिद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिएपनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ ।

चिकित्सकको हड्तालले बिरामी अलपत्र शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन।

सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए। शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ। जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन्। उपचार नगरी घर नफर्कने अठोटका साथ वीर अस्पताल धाइरहेका बाबु–छोरा डाक्टरको हडताल छिटै अन्त्य भए हुन्थ्यो भन्ने अपेक्षामा छन्। निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएकाले सरकारी अस्पतालको मुख ताक्नुपरेको उनीहरू बताउँछन्।

जुम्ला सिञ्जाबाट घुँडाको उपचार गर्न काठमाडौं आएकी मुगा वडको पीडा पनि बलरामको भन्दा कम छैन। घुँडा दुख्ने समस्याले सताएपछि उनी उपचारका लागि पतिलाई लिएर काठमाडौं आएको सोमबार एक महिना नाघिसकेको छ। भक्तपुरको होटलमा बसेर वीर अस्पतालमा उपचार गराउन धाउँदा करिब दुई लाख खर्च भइसकेको उनले बताइन्।

ललितानिवासको जग्गा बेचबिखनमा रोक शीर्षकको समाचारमा संगठित गिरोहबाट हडपिएको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा बेचबिखनमा रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री सुवर्णशमशेर राणाको तत्कालीन भोगाधिकारी, सरकारी कर्मचारी र भूमाफियामार्फत हडपिएको करिब एक सय १४ रोपनी जग्गा बिक्रीमा सरकारले रोक लगाएको हो।

सरकारको यो निर्णयसँगै सेटिङमा हडपेर पछि माफिया, व्यापारी र तत्कालीन भोगाधिकारीले निजी सम्पत्ति बनाएको करिब ६५ कित्ता जग्गा रोक्का गरिएको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ललितानिवासअन्तर्गत कित्ता नम्बर खुलेका सबै जग्गा–जमिन बिक्रीमा रोक लगाइएको छ। ‘मन्त्रिपरिषद्को निर्णय अनुसार आवश्यक कदम चाल्न मालपोत कार्यालय डिल्लीबजारलाई निर्देशन दिइसकेका छौं, मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशी भने, ‘निर्देशनअनुसार नै मालपोतबाट ललितानिवासअन्तर्गत विभिन्न व्यक्तिका नाममा रहेको जग्गा रोक्का भइसकेको जानकारी आएको छ।’

रोक्का जग्गा अब बेचबिखन गर्न पाइने छैन। रोक्का गरिएकोमध्येकै ६० रोपनीमा भाटभटेनी सुपरमार्केटको स्टोर र तीन रोपनी तीन आना जग्गामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को संरचना निर्माण भइसकेको छ। राणा परिवार र भूमाफियाबाट भाटभटेनी र एनआरएनएले जग्गा किनेको तथ्य खुलिसकेको छ। बाँकी जग्गामा राणा परिवार, भूमाफिया तथा उनीहरूबाट जग्गा किन्नेको स्वामित्व छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>