इच्छकामना

इच्छाकामनामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

Banner

चितवन, वैशाख २२-

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र महीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाकाको गाउँपालिका कार्यालयमा आउने अतिथिहरुलाई गर्मीको समयमा मही र दहीले स्वागत गरिन्छ । विभिन्न कार्यक्रममा पनि गर्मी छल्नको लागि दही र महीको प्रयोेग गरिएको छ । गाउँपालिकाको वडा कार्यालयहरुमा पनि गाउँपालिकाले सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भने सो कार्यक्रम ल्याइएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ गाउँपालिकामा हामी आएको दुई तीन महिनापछि नै हामीले सो निर्णय गरेका हौं । गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिङ्स भन्दा दही र मोही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौं । अब वडा र अन्य सरकारी कार्यालयमा पनि सर्कुलर गर्दै छौं ।’

गाउँपालिकाको यो निर्णय निकै सकारात्मक रहेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले कोल्ड ड्रिङ्सको तुलनामा स्वास्थ्यको दृष्टिकोणले दही र मही धेरै राम्रो भएको जानकारी दिए । तर, उनले दही र महीको गुणस्तरमा भने ध्यान दिनुपर्ने बताए । बासी र बिग्रिएको दही परेमा फुड पोइजन हुने उनले बताए । डा अधिकारीले भने, ‘ गर्मीको मौसममा कोल्ड ड्रिङ्स’ प्रयोग गर्नु हुँदैन । जसमा चिनीको मात्रा बढी हुन्छ । यसले मानिसलाई जलवियोजन गराउँछ । तर, सरसफाइको दृष्टिकोणले कोल्ड ड्रिङ्स राम्रोसँग प्याकेजिङ गरिएको हुन्छ तर दही र दूध प्रयोग गर्दा सरसफाइ र प्याकेजिङमा विशेष ध्यान दिनुपर्छ ।’ उनले गाउँपालिकाले यसलाई प्रभावकारी ढंगले अनुगमन गर्न सके यो निर्णय निकै राम्रो भएको बताए । उनले भने, ‘ दही र दूधमा शरिरलाई चाहिने प्रोटिनको मात्रा राम्रो हुन्छ । कोल्ड ड्रिङ्समा चिनी र केमिकल मात्र हुन्छ । जसले मानव स्वास्थ्यमा असर पु¥याउँछ । ’ गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयो गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा दश लिटरसम्म मही प्रयोग हुने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>