देश/प्रदेश
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी, कात्तिक २० –
कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभएको छ ।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
























