देश/प्रदेश
करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

महोत्तरी, कात्तिक २० –
तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन् ।
“यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्नुहुन्छ, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो ।” फूलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उहाँको भनाइ छ ।
खत्रीजस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट फूलबाट राम्रै आय आर्जन गर्न पाइएको बताउनुभयो । “यहीँ हेर्नोस् न, कति होलान र ? त्यही ५०/६० बोट सयपत्रीका होलान्”, करेसाबारीमा ढकमक्क फुलेका सयपत्रीफूल देखाउँदै उहाँले भन्नुभयो, “यहाँका १० बोट आफूले राखीकन दुई हजार रुपैयाँ पाइयो ।” तिहारलक्षित फूल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उहाँको भनाइ छ । आउने वर्ष तिहारलक्षित गरेर सयपत्री फूल खेतीकै रुपमा केही बढाइने पोखरेलको योजना छ ।
“अहिलेका बोट त व्यवसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्”, उहाँ भन्नुहुन्छ, “तर यिनै बोटले अबचाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए ।” उपयुक्त बेला पारेर फुलाउन सके सयपत्रीले राम्रो आम्दानी दिने विश्वास बढेको उहाँको भनाइ छ ।
यस्तै बर्दिबास–३ गौरीडाँडाकी करुणा पाण्डेको करेसाबारीका सयपत्री फूलको व्यापारीले बैना दिएर गएका छन् । आर्जनका दृष्टिले नजोडिएका करेसाबारीका फूलका बोटबाट पर्वको मुखमा पाएको रकमले आँखा खोली दिएको उहाँ बताउनुहुन्छ ।
तिहारका बेला निकै माग बढ्ने भएपनि महोत्तरीमा फूलको व्यवसायिक खेती भने फस्टाउन सकेको छैन । तिहारबाहेक वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठान र सभासमारोहमा अतिथि स्वागत सत्कारमा माला पहि¥याउने बाक्लै चलन छ । यी प्रयोजनमा बाहिरबाट ल्याइने फूलमै आश्रित रहिएको बर्दिबास उद्योग वाणिज्य सङ्घका सचिव रिमनाथ अधिकारी बताउनुहुन्छ ।
जिल्लामा तिहारबाहेकका औपचारिक समारोह, धार्मिक अनुष्ठान, विवाहलगायतका समारोहमा मालाको प्रयोगको संस्कृति नै स्थापित छ । तर यहाँको माटो र हावापानी सयपत्री फूलको खेतीलाई उपयुक्त भए पनि किसानले यसबारे खासै चासो नबढाएका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।
“जिल्लामा फूलको व्यवसायिक खेती तथ्याङ्कमा समावेस गरिने गरी खासै छैन”, सूचना अधिकारी महतो भन्नुहुन्छ, “किसानले यसबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत फूलको बीउ र अन्य हेरचाहसम्मको प्राविधिक समन्वय गर्न सकिन्छ ।” यो कम खर्चिलो नगदेखेतीका रुपमा विकास गर्न सकिने उहाँको ठम्याइ छ ।
जिल्लामा बलवा नगरपालिकाका बनौटा, धमौरा, पडौलमा थोरथोरै मात्रामा किसानले आठ/१० वर्षदेखि सयपत्री खेती गर्दै आएका छन् । यसबाहेक भङ्गाहा र गौशाला नगरपालिकाका केही बस्तीमा किसानले एकाध कठ्ठामा सयपत्री फूलको खेती गरेका छन् । महोत्तरीमा यो खेती धेरै नभएपनि यहाँका फूल टाढासम्मका व्यापारीको रोजाइमा भने पर्ने गरेको छ ।
बनौटा र पडौलतिर उत्पादित फूल जनकपुरका व्यापारीले बारीबाटै उठाएर लैजाने गरेका पडौल बस्तीका राजकिशोर यादव बताउनुहुन्छ । केहीकेही फूलखेती गर्दै आएका किसानले राम्रो बीउ र प्राविधिक सल्लाहको सहयोग पाउनसके यो खेती बढाउँदै लानसकिने बताएका छन् । यसैगरी घरशोभाका लागि केही बोट लगाउँदै आएका गृहिणीले पनि राम्रो बीउ र समयसमयको प्राविधिक हेरचाह र सल्लाह पाउनसके व्यवसायिक रुपमै पूmलखेती गरिने बताएका छन् ।
























