प्रवास

बोल्सोनारोको अमेरिका पलायनपछि ब्राजिल–अर्जेन्टिना कूटनीतिक तनाव चुलियो

०
Banner

ब्रासिलया,कात्तिक १४ –

ब्राजिलले राष्ट्रपति निर्वाचनमा पराजित दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोको अर्जेन्टिनामार्फत अमेरिका पलायन भएको विषयमा स्पष्टीकरण लिन अर्जेन्टिनाका कूटनीतिक प्रतिनिधिलाई बोलाएको छ ।

यस घटनाले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईबिच पहिल्यै तनावपूर्ण रहेको सम्बन्ध थप बिग्रिने सङ्केत गरेको छ ।

ब्राजिलको विदेश मन्त्रालयले बिहीबार अर्जेन्टिनाकी कार्यवाहक राजदूत मारिया एमिलिया कोर्टेसलाई बोलाएको सरकारी स्रोतले रोयटर्सलाई जनाएको उल्लेख गरिएको छ । तर अर्जेन्टिनाका विदेशमन्त्री पाब्लो क्विर्नोले आफ्नो सरकारले बोल्सोनारोको पलायनबारे औपचारिक स्पष्टीकरण मागिएको जानकारी नपाएको बताएका छन् ।

फ्लाभियो बोल्सोनारो आइतबार भएको ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुलासँग पराजित भएका थिए । लुलाले ५१.८ प्रतिशत मतसहित ऐतिहासिक चौथो पटक गैरलगातार राष्ट्रपति पद जितेका हुन् । निर्वाचनमा चालिस लाखभन्दा बढी मतको अन्तरले पराजित भएका फ्लाभियोले भने हार स्वीकार गरेका छैनन् । उनले निर्वाचनमा अनियमितता भएको आरोप लगाए पनि त्यसको प्रमाण प्रस्तुत गरेका छैनन् ।

निर्वाचनपछि फ्लाभियोलाई राहदानी बुझाउन समयसीमा तोकिएको थियो । उनीमाथि ‘बान्को मास्टर’ प्रकरणअन्तर्गत सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि चलिरहेको छ । अनुसन्धानकर्ताले बैंकका पूर्वप्रमुख डानियल भोर्कारोबाट प्राप्त लाखौँ डलरको रकम उनका पिता तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोबारे फिल्म बनाउन प्रयोग भएको हुन सक्ने आशंका गरेका छन् । फ्लाभियोले भने आफूविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् ।

फ्लाभियो परिवारसहित ब्राजिलबाट उत्तरी अर्जेन्टिना हुँदै चार्टर विमानमा अमेरिका पुगेका थिए । विमान इक्वेडर हुँदै मियामी पुगेको थियो । उनले अर्जेन्टिनाका राष्ट्रपति मिलेईलाई सहयोगका लागि धन्यवाद दिएका छन् । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ताले उनको यात्रालाई ‘उद्धार’ भन्दै उनले विपक्षीलाई जेल हाल्न खोज्ने कम्युनिज्मबाट भागेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मिलेई दुवै दक्षिणपन्थी नेता हुन् र बोल्सोनारो परिवारप्रति समर्थन जनाउँदै आएका छन् । ट्रम्पले पनि ब्राजिलको निर्वाचनलाई ‘धाँधलीपूर्ण’ भनेका थिए, यद्यपि उनले नतिजापछि कुनै पक्ष नलिने बताएका थिए ।

लुला र मिलेईबिच मिलेई सन् २०२३ मा सत्तामा आएदेखि नै सम्बन्ध तनावपूर्ण छ । मिलेईले पटक–पटक लुलाको आलोचना गर्दै आएका छन् । गत अगस्टमा सार्वजनिक विवाद बढेपछि दुवै देशले आफ्ना राजदूत फिर्ता बोलाएका थिए । बोल्सोनारोको पलायनसम्बन्धी घटनाले दक्षिण अमेरिकाका दुई ठुला देशबिचको कूटनीतिक दूरी अझ बढाउने जोखिम देखिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>