कृषि

पुर्खाको चिनारी जोगाउँदै आफ्नै माटोमा सम्भावना खोज्दै

०
Banner

दमौली (तनहुँ),कात्तिक १० –

रोजगारी र अवसरको खोजीमा युवापुस्ता विदेशिनेक्रम बढ्दो छ । गाउँका खेतबारी बाँझिँदै छन्, रैथाने बीउबिजन र स्थानीय जातका पशुपन्छी हराउँदै गएका छन् । पुर्खाले पुस्तौँदेखि जोगाउँदै आएको मौलिक खानपान र कृषि संस्कृति पनि विस्तारै ओझेलमा पर्दै गएको छ । यस्तो अवस्थामा आफ्नै माटोमा सम्भावना खोज्दै कृषि उद्यममा जुट्नुभएको छ तनहुँका सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगर ।

बन्दीपुर गाउँपालिका–६, खहरेमा करिब रु एक करोड लगानी गरेर उहाँले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ सञ्चालनमा ल्याउनुभएको छ । यो फार्म केबल कृषि तथा पशुपन्छीपालन गर्ने व्यवसाय मात्र होइन, पुर्खाको ज्ञान, सीप, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुयाउने उहाँको प्रयास पनि हो ।
सेतीगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव रहनुभएका मगरले ‘आफ्नो माटो, आफ्नै उत्पादन, आफ्नै पहिचान’ भन्ने भावनालाई आत्मसात् गर्दै फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय स्रोतसाधनको उपयोग, रैथाने कृषि प्रणालीको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले आफ्नै गाउँमा लगानी गरेको उहाँले बताउनुभयो ।

कृषि उद्यमसँग जोडिएको पुर्खाको पहिचान
गर्जा मगरका लागि रैथाने कृषि उत्पादन केबल आम्दानीको माध्यम होइन । यो पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप र जीवनशैलीसँग जोडिएको विषय हो । आधुनिक जीवनशैलीको प्रभावसँगै परम्परागत खानपान र खेती प्रणाली हराउँदै जान थालेपछि तिनको संरक्षण आवश्यक ठानेर आफू कृषि उद्यममा लागेको उहाँले बताउनुभयो ।
“रैथाने कृषि उत्पादनको माध्यम मात्र होइन, यो हाम्रा पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप, संस्कृति र पहिचान पनि हो”, गर्जा मगर भन्नुहुन्छ, “आफ्नै माटोमा सम्भावना खोजेर स्थानीय स्रोतसाधनको सदुपयोग गर्नसके गाउँमै रोजगारी सिर्जना गर्न र कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्न सकिन्छ ।”

उहाँको यही सोचले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ को अवधारणालाई आकार दिइएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै परम्परागत कृषि प्रणाली र मौलिक खाद्य संस्कृतिलाई व्यवहारमै संरक्षण गर्ने प्रयासमा जुटेको उहाँले बताउनुभयो ।
एउटै फार्ममा पशुपन्छीपालनदेखि फलफूल खेतीसम्म

फार्ममा स्थानीय जातका कुखुरा, कालो सुँगुर, राँगा, बाख्रा तथा हाँसपालन गरिएको छ । पशुपन्छीसँगै मौरीपालनलाई फार्मको अभिन्न हिस्सा बनाइएको छ ।
त्यसैगरी, फार्म परिसरमा सुन्तला, जुनार, लिची, कागती र अम्बालगायतका फलफूलखेती गरिएको छ । कृषि उत्पादन र पशुपन्छीपालनलाई एकैठाउँमा समेटेर स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

गाउँमै सम्भावना, गाउँमै रोजगारीको खोजी
रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला गर्जा मगरले आफ्नै गाउँमा लगानी गरेर फरक सन्देश दिन खोज्नुभएको छ । खेतबारी बाँझो राख्नुभन्दा स्थानीय उत्पादन, पशुपन्छीपालन र फलफूल खेतीमार्फत गाउँमै आर्थिक गतिविधि बढाउन सकिने उहाँको विश्वास छ ।

रैथाने बीउबिजन, स्थानीय जातका पशुपन्छी र परम्परागत खानपानलाई नयाँ पुस्तासँग जोड्नसके कृषि उत्पादनसँगै सांस्कृतिक पहिचानको संरक्षणमा पनि योगदान पुग्ने उहाँले बताउनुभयो । कृषि उद्यमलाई सम्मानित र सम्भावनायुक्त पेसाका रूपमा स्थापित गर्नसके गाउँमै बसेर पनि भविष्य निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ ले बन्दीपुरको कृषि सम्भावनालाई स्थानीय पहिचानसँग जोड्ने प्रयास गरेको छ । यसको दीर्घकालीन सफलता उत्पादन, बजार व्यवस्थापन, गुणस्तर र दिगो सञ्चालनमा निर्भर रहने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>