प्रवास

पिएचपिका दुई गम्भीर सुरक्षा कमजोरीबारे अमेरिकी निकायको चेतावनी, तत्काल अपडेट गर्न आग्रह

०
Banner

काठमाडौँ ,कात्तिक ५ –

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले वेबसाइट तथा वेब एप्लिकेसन सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएचपिमा भेटिएका दुई गम्भीर सुरक्षा कमजोरीबारे चेतावनी दिएका छन् । ती कमजोरीको दुरुपयोग गरेर साइबर आक्रमणकारीले टाढैबाट प्रणालीमा हानिकारक कोड चलाउन सक्ने र संवेदनशील तथ्याङ्क तथा कम्प्युटर नेटवर्कमा पहुँच प्राप्त गर्न सक्ने जोखिम रहेको उनीहरूले बताएका छन् ।

एफबीआईको साइबर डिभिजनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको पोस्टअनुसार यी कमजोरीलाई सिभिई–२०२६–१०९६१८ र सिभिई–२०२६–१०९६१९ नाम दिइएको छ । पिएचपिका मुख्य संरचनामा रहेका यी कमजोरीले वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने जनाइएको छ ।

पिएचपि इन्टरनेटमा आधारित वेबसाइट र एप्लिकेसन निर्माण तथा सञ्चालनमा व्यापक रूपमा प्रयोग हुन्छ । त्यसैले एज्ए प्रयोग गर्ने संस्थाका सर्भर, वेबसाइट र नेटवर्क साइबर आक्रमणको जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ ।

तत्काल अपडेट गर्न एफबीआईको आग्रह

एफबीआईले जोखिम कम गर्न संस्थाहरूलाई तत्काल केही कदम चाल्न आग्रह गरेको छ । उसका अनुसारः

– सुरक्षा अपडेट गर्नेः प्रभावित पिएचपि प्रणालीलाई आधिकारिक वेबसाइटमा उपलब्ध सुरक्षा निर्देशनअनुसार तुरुन्त अपडेट गर्नुपर्छ ।

– पिएचपि प्रयोग भएका प्रणाली पहिचान गर्नेः संस्थाहरूले आफ्ना सर्भर, वेबसाइट, एप्लिकेसन र अन्य सफ्टवेयरमा पिएचपि कहाँ प्रयोग भइरहेको छ भन्ने पहिचान गर्नुपर्छ । इन्टरनेटबाट सीधै पहुँच गर्न सकिने प्रणालीलाई प्राथमिकता दिनुपर्छ ।

– सन्दिग्ध गतिविधि निगरानी गर्नेः पिएचपि प्रक्रियाले अनपेक्षित रूपमा कमान्ड शेल चलाउने, फाइल डाउनलोड गर्ने वा अन्य असामान्य गतिविधि गर्ने अवस्था निगरानी गर्नुपर्छ ।

– अपडेट सम्भव नभए प्रणाली बन्द गर्नेः तत्काल सुरक्षा अपडेट गर्न नसकिएमा कमजोरी पूर्ण रूपमा समाधान नभएसम्म जोखिममा रहेका प्रणाली अफलाइन राख्न एनएसए र एफबीआईले सिफारिस गरेका छन् ।

एनएसएले पनि पिएचपि प्रयोग गर्ने सबै संस्थालाई तत्काल सुरक्षा अपडेटका लागि तयार रहन आग्रह गर्दै यसबारे थप विस्तृत निर्देशन पछि जारी गर्ने जनाएको छ ।

पिएचपिको सुरक्षा अपडेट सार्वजनिक

पिएचपिको आधिकारिक सुरक्षा टोलीले अक्टोबर २१ मा यी कमजोरी समाधान गर्ने अपडेट सार्वजनिक गरेको छ । क्यानडाको साइबर सुरक्षा केन्द्रका अनुसार पिएचपिका निम्न संस्करणमा सुरक्षा सुधार आवश्यक छः

– पिएचपि ८.५.१२ भन्दा पुराना संस्करण

– पिएचपि ८.४.२७ भन्दा पुराना संस्करण

– पिएचपि ८.३.३६ भन्दा पुराना संस्करण

– पिएचपि ८.२.३५ भन्दा पुराना संस्करण

पिएचपि ८.१ र त्यसभन्दा पुराना संस्करण आधिकारिक रूपमा अद्यावधिक नपाउने अवस्थामा रहेकाले तिनको प्रयोग गर्ने संस्थाले सम्बन्धित सेवा प्रदायकको सुरक्षा निर्देशन पालना गर्नुपर्नेछ ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार यी कमजोरीलाई बेवास्ता गर्दा वेबसाइटको नियन्त्रण गुम्ने, संवेदनशील तथ्याङ्क चोरी हुने र संस्थाको नेटवर्कमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ । त्यसैले पिएचपि प्रयोग गर्ने संस्थाले आफ्ना प्रणालीको अवस्था जाँच गरी उपलब्ध सुरक्षा सुधार तत्काल लागू गर्नुपर्ने देखिन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>