समाचार
यी चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,कात्तिक ३-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली हुने भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि दिउँसो आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा देशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।























