प्रवास
पाकिस्तानमा रेल दुर्घटनाः ६ जनाको मृत्यु, ३० घाइते

पाकिस्तान, असोज २७ –
पञ्जाब प्रान्तमा मंगलबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै पटरीबाट खसेको हो । प्रहरीका अनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे भएको थियो ।
दुर्घटनामा रेलका सबै १४ वटा डिब्बा पटरीबाट खसेका छन् । घाइतेहरूलाई उपचारका लागि मुल्तानस्थित निस्थार अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा प्रहरी तथा उद्धारकर्मीले उद्धार र राहत कार्य जारी राखेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई तत्काल उचित उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ ।पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना भएका छन् ।
सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पाकिस्तानको रेल सुरक्षा र मर्मतसम्भार व्यवस्थामाथि प्रश्न उठेका थिए। एजेन्सी























