देश/प्रदेश
अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर
०

काठमाडौँ, असोज २२–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दुःख, हैरानी तथा सास्ती दिई घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान गर्दा वलीले सेवाग्राहीसँग रु १० लाख घुस माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै रु १० लाख बिगो कायम गरेको छ ।
उक्त बिगोबमोजिम जरिवाना तथा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















