चितवन विशेष

चितवनका २६ वर्षीय देवकोटा कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

०
Banner

चितवन, असोज १९–

नेपाली कांंग्रेसको १५औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रविन देवकोटा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आइतबारबाट सुरु भएको महाधिवेशनमा सहभागि हुन काठमाडौँ पुगिसकेका २६ वर्षका देवकोटाले युवा क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी बागमती प्रदेश भूगोलबाट युवा कोटामा प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

महाधिवेशन प्रतिनिधिमा उत्कृष्ट मतसहित निर्वाचित देवकोटा केन्द्रीय सदस्यमा पनि उत्कृष्ट मतसहित विजयी गराउनेमा विश्वास व्यक्त गरे । ‘युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु, सबैले साथ र सहयोग गरिदिनुहोला, कांग्रेसलाई सफल बनाउने भूमिका निर्वाह गर्नेछु’–देवकोटाले भने ।

चितवन–३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ देवकोटा ११ जना प्रतिस्पर्धीमा विजयी हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । यहीँबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ढोका खुलेको थियो । देवकोटाले २२७ मत प्राप्त गरेका थिए। उनीसँगै सर्वाधिक मतसहित उमङ्ग लोहनी पनि खुला युवातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। चितवनको माडी नगरपालिका–४ स्थायी घर भएका देवकोटा माडीबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिसमेत चुनिएका थिए। राजधानी केन्द्रित राजनीतिक वृत्तभन्दा बाहिर, चितवनको संगठनबाट आफ्नो आधार बनाउँदै आएका उनी अहिले केन्द्रीय नेतृत्वको आकांक्षासहित काठमाडौं पुगेका छन्।

को हुन् प्रविन देवकोटा ?

विद्यार्थी राजनीतिबाट सुरु भएको प्रविन देवकोटाको यात्रा अहिले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने ठाउँमा आइपुगेको छ। वि.सं. २०६४ मा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका देवकोटाले विद्यार्थी संगठनकै माध्यमबाट झन्डै दुई दशक संगठनमा बिताएका छन्। अर्थात्, अहिले २६ वर्षका देवकोटाले राजनीतिमा पाइला टेक्दा उनको उमेर करिब बाल्यावस्थाकै थियो। त्यही समयदेखि सुरु भएको राजनीतिक यात्राले अहिले उनलाई कांग्रेसको सर्वोच्च निर्णय गर्ने निकायमध्ये एक केन्द्रीय कार्यसमितिको प्रतिस्पर्धासम्म पुर्‍याएको छ। २६ वर्षका देवकोटाको परिचय राजनीतिमा मात्रै सीमित छैन। उनी पेशाले लेखा तथा कर परामर्शदाता हुन्। साथै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।

यस्तो छ देवकोटाको योजना

प्रविन देवकोटाले आफ्नो मुख्य राजनीतिक एजेन्डामा युवा सहभागिता, पुस्तान्तरण, प्रविधिमैत्री संगठन र पार्टीलाई जनमुखी बनाउने विषयलाई उठान गरेका छन् । ‘राजनीति नारामा मात्र होइन, व्यवहारमा देखिने नयाँ सोच र कार्यशैली हुनुपर्छ,’ उनी भन्छन्, ‘अग्रजको अनुभव र युवाको ऊर्जालाई एकै ठाउँमा जोडेर कांग्रेसलाई अझ जीवन्त र जनमुखी बनाउनु हाम्रो मुख्य दायित्व हो।’

उनले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने विषयलाई पनि आफ्नो प्राथमिक एजेन्डामा राखेका छन्।उनका अनुसार नयाँ पुस्तासँग संवाद गर्ने माध्यम बदलिएको छ। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र प्रविधि अहिले राजनीतिक संगठनका लागि वैकल्पिक माध्यम मात्र नभई अनिवार्य आवश्यकता बनिसकेको छ।त्यसैले कांग्रेसको संगठनात्मक संरचनालाई पनि बदलिँदो समयअनुसार आधुनिक बनाउनुपर्ने उनको धारणा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>