प्रवास

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, एकै दिन झण्डै २ हजार पक्राउ, ३०५ प्रहरी घाइते

०
Banner

पेरिस, असोज १६ –

कक्षा कोठामा विद्यार्थीको चाप, शिक्षक अभाव र जीर्ण विद्यालय भवनको विरोधमा फ्रान्सभर सुरु भएको उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलन थप चर्किएको छ । बिहीबार देशका विभिन्न सहरमा विद्यार्थीले विद्यालय अगाडि अवरोध खडा गर्नुका साथै फोहोरका डब्बामा आगो लगाएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार बिहीबार मात्रै प्रहरीले १ हजार ९४९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा ३०५ जना प्रहरी घाइते भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फ्रान्सभर रहेका करिब ३ हजार ७०० उच्च माध्यमिक विद्यालयमध्ये १ हजार २७ वटा विद्यालय आन्दोलनबाट प्रभावित भएका छन् । तीमध्ये २२२ विद्यालयमा विद्यार्थीले प्रवेशद्वार अवरुद्ध गरेका थिए ।

पेरिस क्षेत्रका अधिकारीका अनुसार करिब ५० विद्यालयमा हिंसा, झडप र तोडफोडका घटना भएका छन् ।

विद्यालयका कर्मचारीमाथि पनि आक्रमण

आन्दोलनका क्रममा केही विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीमाथि समेत आक्रमण र दुर्व्यवहार भएको स्थानीय शिक्षा अधिकारी, प्रशासन र शिक्षक संगठनका प्रतिनिधिले बताएका छन् ।

दक्षिणी सहर मार्सेइमा एक विद्यालयका प्रधानाध्यापक र उनका सहायकमाथि पेट्रोल छ्यापिएको बताइएको छ । सोही विद्यालयमा रिपोर्टिङ गरिरहेका एम६ टेलिभिजनका एक पत्रकारमाथि पनि आक्रमण भएको स्थानीय अधिकारीले बताएका छन् ।

उत्तरपश्चिमी सहर नान्टेसमा हिंसात्मक प्रदर्शनपछि विद्यालयको प्रवेशद्वारमा आगलागी भएको थियो । आगो निभाउन दमकल परिचालन गरिएको क्षेत्रीय शिक्षा बोर्डले जनाएको छ ।

उत्तरपूर्वी सहर स्ट्रासबर्गमा प्रदर्शनका कारण हिंसा फैलिन सक्ने भन्दै ट्राम सेवा रोकिएको थियो । दक्षिणी सहर टुलुजमा सयौँ युवा ट्रामको बाटोमा पुगेका थिए । केही स्थानमा फोहोरका डब्बा पल्टाएर आगो लगाइएको तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको एएफपीका पत्रकारहरूले जनाएका छन् ।

सरकारले लगायो ‘कट्टरपन्थी वामपन्थी’को संलग्नता आरोप

गृह मन्त्री लरेन्ट नुनेजले प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै यसलाई ‘अनियन्त्रित हिंसा’ भनेका छन् । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयले प्रदर्शन ‘सहरी हिंसा’मा परिणत भएको दाबी गर्दै यसमा कट्टरपन्थी वामपन्थी समूहको संलग्नता रहेको गुप्तचर निकायको सूचनालाई आधार बनाएको जनाएको छ ।

तर वामपन्थी पार्टी ला फ्रान्स इन्सुमिज (एलएफआई) का नेता जाँ–लुक मेलाँसोंले सरकारको दाबी अस्वीकार गरेका छन् । उनले यसलाई सरकारको ‘षड्यन्त्रकारी सोच’ भन्दै कुन गुप्तचर निकायले यस्तो सूचना दिएको हो भन्ने प्रश्न गरेका छन् ।

एलएफआईले आफूहरूले भने शान्तिपूर्ण आन्दोलनका उपाय अपनाउन आह्वान गरेको जनाएको छ ।

विद्यार्थीका माग के हुन् ?

विद्यार्थीहरूको आन्दोलन गत सातादेखि सुरु भएको हो । उनीहरूले विद्यालयको समयतालिका, कक्षाकोठाको आकार, शिक्षक अभाव र विद्यालय भवनको अवस्थालगायत विषय उठाएका छन् । यस वर्षको गर्मीयाममा अत्यधिक तापक्रमका कारण कतिपय विद्यालयका कक्षाकोठा अत्यधिक तातेको विषय पनि आन्दोलनको कारण बनेको छ ।

स्ट्रासबर्गमा प्रदर्शनमा सहभागी १७ वर्षीय एक विद्यार्थीले एउटा कक्षामा ३५ जनासम्म विद्यार्थी रहने गरेको र गर्मीयाममा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्दा कक्षाकोठामा बस्न निकै कठिन हुने बताएका छन् । उनले केही विद्यालयमा शौचालयको अभाव, पानी चुहिने समस्या, अपर्याप्त क्यान्टिन, बजेट र निरीक्षकको अभाव रहेको दाबी गरेका छन् ।

विश्वविद्यालयका विद्यार्थी पनि सहभागी

उच्च माध्यमिक विद्यालयका विद्यार्थीको आन्दोलनमा विश्वविद्यालयका विद्यार्थीसमेत जोडिएका छन् । विद्यार्थी संगठनका अनुसार बिहीबार करिब ३० वटा विश्वविद्यालयका क्याम्पस प्रवेशद्वार अवरुद्ध गरिएको थियो । यसैबिच, प्रहरीले तीन जना विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि गृह मन्त्रालयले प्रहरीको कारबाहीबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

फ्रान्समा पछिल्लो विद्यार्थी आन्दोलन त्यहाँको बढ्दो महँगी र विशेषगरी इन्धनको मूल्य वृद्धिका कारण उत्पन्न सामाजिक तनावबीच चर्किएको हो । आगामी राष्ट्रपतीय निर्वाचन हुन करिब सात महिना बाँकी रहेका बेला सुरु भएको आन्दोलनले सरकारमाथि विद्यालय तथा सार्वजनिक सेवासम्बन्धी दबाबसमेत बढाएको छ । त्यसो त छिमेकी बेल्जियमको पूर्वी सहर लिजमा पनि केही विद्यालयमा प्रदर्शन र तोडफोड भएको प्रहरीले जनाएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>