देश/प्रदेश
चामेमा नदी थुनिएपछि मुख्यमन्त्रीको आकस्मिक निरीक्षणः खुलाउने प्रयास जारी

मनाङ, असोज १५ –
मनाङमा आएको विपद् र बाढीपहिरोका कारण खोलाघरमा थुप्रिएको ग्राबेल, ठूला ढुङ्गा तथा थुनिएको नदीलाई सुरक्षित रूपमा खुलाउन र प्रभावित क्षेत्रको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्रीले मनाङको चामे पुगेर स्थलगत निरीक्षण गरेका छन् ।
यसै सन्दर्भमा अवरुद्ध संरचना सञ्चालनमा ल्याउन र उद्धार तथा राहत कार्यलाई तीव्रता दिन जिल्ला विपद् व्यवस्थापन समितिको विशेष बैठकसमेत सम्पन्न भएको छ ।
उक्त निरीक्षण तथा बैठकमा गण्डकी प्रदेश सभाका मुनिन्द्रजंग गुरुङ, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी इन्स्पेक्टरलगायत सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण: प्रभावित नागरिकको अवस्था, क्षति तथा तत्काल गर्नुपर्ने कामबारे मुख्यमन्त्रीले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति र प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग विस्तृत छलफल गरेका छन् ।
अहिले पानी बगिरहेको भए पनि थुप्रिएको ग्राबेल र ठूला ढुङ्गाका कारण केही घरहरू उच्च जोखिममा छन् भने पक्की पुलसमेत पुरिएको अवस्था छ ।
नदीको थुनिएको भाग खुलाउन परिचालन गरिने डोजर तथा एक्स्काभेटरहरूका लागि आवश्यक पर्ने इन्धन मगाइएको छ भने प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धारकर्मीहरूका लागि खानेपानी, खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरूको प्रबन्ध मिलाइएको छ।
खोलाघर खोल्ने प्रयासस् खोलाघर खोल्ने तथा जोखिम न्यूनीकरणका लागि भइरहेको कामलाई थप प्रभावकारी बनाउन उज्यालो भएलगत्तै पूर्ण रूपमा डोजर तथा एक्स्काभेटरको प्रयोग गरी सुरक्षित रूपमा बहाव खुलाउने प्रयास गरिंदैछ।
स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक काम तुरुन्त अगाडि बढाइने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामको लागि संघीय सरकारसँग समन्वय गरिएको छ।
साथै, नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै प्रभावित नागरिकको दैनिकी सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको छ।
नदीको बहाव र जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन भइरहेको छ भने विपद्को कठिन परिस्थितिमा नागरिकको जीवन रक्षा र सुरक्षाका लागि स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। न्यूज बैंक

























