देश/प्रदेश
साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

घोराही (दाङ), असोज १४ –
दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढदै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो ।
बजारमा भन्दा सस्तोमा चिनी, नुन पाइने भएकाले आफू खरिद गर्न आएको घोराही उपमहानगरपालिका–१५ का निर्मला मगरले बताउनुभयो । सरकारले चिनी, नुनमात्र नभई अन्य सामग्री पनि सहुलियतमा बिक्री गर्नुपर्ने उहाँको भनाइ छ । यसले उपभोक्तालाई सहज हुने उहाँ बताउनुहुन्छ ।
अर्का उपभोक्ता घोराही–७ का निर्मल केसी पनि सस्तो मूल्य पसलबाट नुन, चिनी खरिद गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अन्यत्रभन्दा केही छुट भएका कारण थोरै भए पनि राहात मिलेको उहाँको भनाइ छ ।
दैनिक खरिद गर्ने आउनेको सङ्ख्या वृद्धि हुदै गएको साल्टट्रेडिङ घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो । सुरुका दिनमा कम भए पनि पछिल्ला दिनमा भीड बढदै गएको उहाँको भनाइ छ । अहिले दैनिक ३०० भन्दा बढी आउने गरेको उहाँले बताउनुभयो ।
सुपथ मूल्य पसलबाट सर्वसाधारणले प्रतिकिलो चिनी रु १०० र नुन प्रतिकिलो रु २४ मा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । बजारमा हाल चिनी प्रतिकिलो करिब रु १४० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । त्यसैगरी नुन पनि बजारमा प्रतिकिलो रु ३० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट चिनी र नुन खरिद गर्दा उपभोक्ताले केही रकम बचत गर्न सक्नेछन् । साल्टट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा नुन अधिकतम छ किलो र चिनी अधिकतम छ किलोसम्म खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
साल्टट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
विगतका वर्षमा चाडपर्वका समयमा सञ्चालन हुने सुपथ पसलबाट मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्टट्रेडिङले यस वर्ष भने नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गर्न थालेको जनाएको छ । प्रमुख गुप्ताका अनुसार सुपथ पसल असोज १ गतेदेखि कात्तिक ३१ गतेसम्म सञ्चालन हुनेछ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई केही राहत दिने उद्देश्यले सुपथ पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा एउटै व्यक्तिले ठूलो परिमाणमा वस्तु खरिद गरेर अन्य उपभोक्तालाई अभाव हुने अवस्था नआओस् भन्ने उद्देश्यले खरिदको सीमा तोकिएको बताइएको छ । यसको दुरुपयोग नहोस् भन्नेबारेमा कार्यालय सचेत रहेको जनाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको छ । विशेषगरी दसैँ, तिहार र छठका समयमा घरायसी प्रयोजनका लागि चिनी, नुनलगायत खाद्य वस्तुको खपत बढ्ने भएकाले उपभोक्ताको मागअनुसार सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने सरकारी प्रयासले बजार मूल्यमा हस्तक्षेप गर्ने अपेक्षा गरिएको छ । रासस























