देश/प्रदेश
युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक जना पक्राउ

झापा, असोज १३ –
बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछीका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्। उनी हाल बिर्तामोड–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे राय मादक पदार्थ सेवन गरी पेट्रोल बोकेर २२ वर्षीया रविना मगरको डेराकोठामा प्रवेश गरेका थिए। उनले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीको भनाइ छ।
घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।























