चितवन विशेष

चितवनमा धानमा रोग तथा किराको समस्या देखिएपछि शिविर सञ्चालन

Banner

चितवन, असोज ७-

कृषि विकास कार्यालय चितवनले धानमा देखिएको समस्या पहिचान तथा उपचारका लागि बाली उपचार शिविर सञ्चालन गरेको छ। धानमा रोग तथा किराको समस्या बढेपछि कार्यालयले बुधबार भरतपुर महानगरपालिका–१४ पकौडीमा बाली उपचार शिविर आयोजना गरेको हो।

चितवनमा अहिले धानमा एउटै प्रकारको समस्या नभई खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डडुवालगायतका समस्या देखिएको वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले बताए।

विशेषगरी सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको उनले बताए। हर्दिनाथ–६ जातको धानमा पनि केही क्षेत्रमा समस्या देखिन थालेको अधिकारीले जानकारी दिए। कृषि विकास कार्यालयका अनुसार रत्ननगर नगरपालिकाका वडा नम्बर ५, १५ र १६ तथा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ७, १३, १५ र १६ मा धानमा विभिन्न समस्या देखिएको छ। धानमा देखिएको समस्या लिएर कार्यालयमा आउने किसानको संख्या बढेपछि ठाउँ–ठाउँमा बाली उपचार शिविर सञ्चालन गरिएको कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले जानकारी दिईन् ।

‘चितवनका विभिन्न क्षेत्रमा धानमा समस्या देखिएको छ। विशेषगरी सावाँ मन्सुली र सावित्रीमा समस्या बढी देखिएको छ,’ केसीले भनिन्, ‘हर्दिनाथ–६ मा पनि केही ठाउँमा समस्या देखिन थालेको छ।’ उन्नत बीउ वृद्धि कम्पनीका अध्यक्ष रामजीप्रसाद सापकोटाका अनुसार पश्चिम चितवनमा धान लगाइएको क्षेत्रमध्ये करिब ३५ देखि ४० प्रतिशत जमिनमा कुनै न कुनै प्रकारको समस्या देखिएको छ।

यस वर्ष धानमा समस्या बढ्नुमा मौसमको अवस्थालाई पनि कारण मानिएको छ। धान रोप्ने समयदेखि नै बढी पानी परेको र पछिल्लो समय पानी तथा घामको क्रमिक प्रभावले बालीमा विभिन्न समस्या देखिएको उनले बताइन्। विषादी प्रयोग गरेपछि तत्काल पानी पर्दा त्यसको प्रभावसमेत कम हुने गरेको उनको भनाइ छ।

धानमा देखिएका रोग तथा किराको व्यवस्थापनमा जैविक विधिलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आए सुरक्षित तथा सिफारिस गरिएको मात्रामा प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताइन्। खेतमा खाद्यतत्वको कमी देखिएका किसानलाई धान काटिसकेपछि माटो परीक्षण गर्न पनि कार्यालयले सुझाव दिएको छ। सूक्ष्म खाद्यतत्वसमेत परीक्षण गरी माटोको अवस्था पहिचान गरेर आगामी बालीका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>