चितवन विशेष
चितवनमा उद्योग दर्ता, नवीकरण नामसारी लगायतका सेवा अनलाईन मार्फत हुने

चितवन, असोज ५–
चितवनमा उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारीलगायतका सेवा अब अनलाइनबाटै लिन सकिने भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले असोज ५ गतेदेखि प्रदेशका १० जिल्लामा उद्योग प्रशासनसम्बन्धी सेवा अनलाइनबाट उपलब्ध गराएको हो ।
उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार चितवनमा औपचारिक रुपमा आजदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन प्रणालीबाट उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पूँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन र वर्ग परिवर्तनलगायतका काम गर्न सकिने उनले बताए ।
उनका अनुसार अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीले कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने र कागजात बुझाउन लाग्ने समय घट्नेछ । टाढाबाट सेवा लिन आउने सेवाग्राहीको यातायात खर्चसमेत बचत हुने उनले बताए । पौडेलले अनलाइन सेवाले विशेषगरी कार्यालयबाट टाढा रहेका उद्योगी तथा व्यवसायीलाई सहज हुने बताए ।
‘उद्योग दर्ता, नवीकरण, खारेजी, ठाउँसारी, पूँजीवृद्धि, नामसारीलगायतका कामका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुन्छ,’ पौडेलले भने, ‘घरमै बसेर सेवा लिन सकिने भएकाले समयसँगै यातायात खर्च पनि बचत हुन्छ ।’ अनलाइन प्रणालीबाट आवेदन र आवश्यक कागजात पेश गर्न सकिने भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने पौडेलले बताए । आवेदनको अवस्था तथा प्रक्रियाको डिजिटल अभिलेख रहने भएकाले सेवा प्रवाहमा पारदर्शिता कायम गर्नसमेत सहयोग पुग्ने उनको भनाइ छ । कार्यालयले यसअघि दर्ता भइसकेका उद्योगलाई समेत डिजिटल प्रणालीमा लैजाने काम सुरु गरेको छ । यसका लागि उद्योगी स्वयंले आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको पौडेलले बताए । ‘उद्योगी व्यवसायीले घरमा बसेर नवीकरण गर्न सक्नुहुन्छ,’ उनले भने, ‘कार्यालयलाई जानकारी गराएमा प्राथमिकताका आधारमा डिजिटल गरिनेछ। टेलिफोनबाट समेत परामर्शको सुविधा उपलब्ध गराइनेछ ।’
चितवनमा वाणिज्यतर्फ करिब २३ हजार र उद्योगतर्फ १७ हजार उद्योग दर्ता भएका छन् । अनलाइन सेवा सञ्चालन तथा सेवाग्राहीलाई सहजीकरण गर्न कार्यालयले चार जना कर्मचारी खटाएको छ । उद्योगी तथा व्यवसायीले जुनसुकै समयमा घरमै बसेर अनलाइन फारम भर्न सक्नेछन्। तर फारम भरेर प्रक्रिया पूरा भएपछि प्रमाणपत्र लिन भने कार्यालयमा उपस्थित हुनुपर्ने पौडेलले बताए ।
























