देश/प्रदेश

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

Banner

रामचन्द्र रायमाझी ,

पाल्पा, असोज १-

दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुईरचार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरुले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौँ हिँडेरै तानसेन हेर्न आउँथे तर अहिले भने धेरैजसो नेवार समुदाय बसाइँसराइ र विदेश पलायनले लाखे नाचको रौनक सेलाउँदै गएको छ ।

पाल्पाली राजा मणिमुकुन्द सेनको समयमा सुरु भएको यस परम्पराको इतिहास ५०० वर्षभन्दा पुरानो रहेको बताइन्छ । यद्यपि यो पाल्पामा लाखे नाच कहिलेदेखि सुरु भएको हो भन्ने यकीन इतिहास भने अहिलेसम्म भेटाउन सकिएको छैन । किंवदन्तीअनुसार राजा मणिमुकुन्द सेनले आफ्नो राज्य विस्तारका क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको समृद्ध कला, संस्कृति र नेवार समुदायको काष्ठकला तथा मूर्तिकलाबाट अति प्रभावित हुनुभएको थियो ।

युद्धमा विजयी भएपछि, उहाँले मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृतिहरूलाई पाल्पामा ल्याउनुभएको थियो । उहाँले काठमाडौँबाट काष्ठकलामा निपूर्ण नेवार कालीगढलाई पनि पाल्पामा ल्याई, यहाँ विभिन्न जात्रा र पर्वको प्रचलन सुरु गर्नुभएको हो । तानसेन र भैरवस्थान क्षेत्रमा नेवार समुदायले गुठी स्थापना गरी सुरु गरेको लाखे नाच अहिले पुस्तान्तरण हुन नसक्दा लोपोउन्मुख अवस्थामा पुगेको छ ।

विशेषगरी नेवार समुदायको सांस्कृतिक महत्व बोकेको लाखे संस्कृति बुझेका अग्रज बुढापाका नहुनु, भएका पनि बसाइँ जानु र युवापुस्तालाई चासो नहुनुले ओझेलमा परेको तानसेनका राजेन्द्र गोपालसिंह बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसको जगेर्नाका लागि अग्रजको पथप्रदर्शन र अगुवाइ तथा पछिल्लो पुस्तामा संरक्षण संवर्द्र्धन गर्ने कुरामा जागरुक हुन जरुरी देखिन्छ ।”

यहाँ श्रावण महिनाको घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमङ्गलदेखि सुरु भई श्रीकृष्ण जन्माष्टमीसम्म देखाइने यो नाच नेवार समुदायमा अनिष्ट निवारणको प्रतीक मानिन्छ तर नयाँँ पुस्ताले चासो नदिनु र नाच देखाउन आर्थिक अभाव हुनुले विस्तारै हराउन थालेको देउराली सा।स्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं इतिहासका जानकार मदन देउरालीले बताउनुभयो । “हाम्रा परम्पराको संरक्षण र सम्वर्द्धनमा सम्पूर्ण नेवार समुदायको महत्वपूर्ण भूमिका रहन्छ, संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्‍यो, पश्चिमा शैलीका नाच र बाद्यवादनले मात्रै लाखेनाच हुँदैन”, देउरालीले भन्नुहुन्छ, “परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवर्द्धन गर्न सकिएमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ ।”

नेपालका विभिन्न नेवार बस्तीमा प्रचलित लाखे नाचको आफ्नै सांस्कृतिक र धार्मिक महत्व छ । विशेषगरी गाईजात्रा तथा अन्य जात्रा–पर्वका अवसरमा लाखे नाच देखाइन्छ । लाखेलाई कतिपय समुदायमा रक्षकका रूपमा लिइन्छ । जात्रा तथा पर्वका क्रममा लाखेको उपस्थितिले मनोरञ्जन मात्र प्रदान गर्दैन, समुदायको सामूहिक स्मृति र सांस्कृतिक पहिचानलाई पनि निरन्तरता दिन्छ । पहिले लाखे बन्ने कुरा सामान्य थिएन । नाचका चाल, ताल, अभिनय र अनुशासन सिक्नुपथ्र्यो । गुरु वा अग्रजबाट सिक्दै नयाँ पुस्ताले पुरानो पुस्ताको कला आत्मसात् गथ्र्यो । एक पुस्ताबाट अर्को पुस्तामा लाखे नाचको ज्ञान र सीप हस्तान्तरण हुँदै आए पनि अहिले त्यसो हुन सकेको छैन । समय फेरिएको छ । सहरको स्वरूप फेरिएको छ । मानिसको जीवनशैली, मनोरञ्जनका माध्यम र प्राथमिकता पनि बदलिएका छन् । पहिले जात्रा सुरु भएपछि घण्टौँसम्म लाखेनाच हेर्न मानिसहरू सडकमा जम्मा हुन्थे । अहिले धेरैको ध्यान केही सेकेण्डको भिडियो, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनमा केन्द्रित छ ।

नयाँ पुस्ता भन्छन्, ‘समस्या अवसर र पहुँचको हो’ लाखे नाच जोगाउने सबैभन्दा ठूलो चुनौती यसको पुस्तान्तरण हो । अग्रज पुस्ताले वर्षौं लगाएर सिकेको नृत्य, चाल र अभिनय नयाँ पुस्तालाई सिकाउन चाहन्छ तर सिक्ने युवाको सङ्ख्या पर्याप्त नहुँदा पुराना पुस्ता चिन्तित छ । तानसेनका ७५ वर्षीय मदन देउराली भन्नुहुन्छ, “हाम्रो संस्कृति हामी आफैँले जोगाउनुपर्छ, अब नयाँ पुस्ता आफैँ सिक्न अग्रसर हुनुपर्छ ।” नयाँ पुस्तालाई केबल लाखेको पोशाक लगाएर नाच्न मात्र होइन, यसको इतिहास, संस्कार र सांस्कृतिक अर्थ बुझेर सहभागी हुन पनि उहाँ आग्रह गर्नुहुन्छ ।

नयाँ पुस्ताका युवाको दृष्टिकोण फरक छ । उनीहरू परम्पराप्रति पूर्ण रूपमा उदासिन छैनन् तर समस्या अवसर र पहुँचको हो । धेरै युवालाई लाखे नाच सिक्ने ठाउँ कहाँ छ, कसले सिकाउँछ र यसको अभ्यास कहिले हुन्छ भन्ने नै थाहा छैन । अर्कोतर्फ पढाइ, रोजगारी र अवसरको खोजीमा युवा आफ्नो मौलिक थातथलोबाट बाहिर जानुपर्ने बाध्यता हुँदा बाबुबाजेले निरन्तरता दिर्दै आएको लाखे संस्कृतिलाई आफूहरुले आत्मसात् गर्न नसकेको नयाँ तानसेन असनटोलका नयाँ पुस्ताका प्रेम श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “लाखे नाचका लागि आवश्यक पोशाक, मुकुट, बाजागाजा र अभ्यासमा समय तथा खर्च लाग्छ । नियमित अभ्यासका लागि समय निकाल्न पनि अहिलेको व्यस्त जीवनशैलीमा सहज छैन ।” अर्कोतर्फ, संस्कृतिलाई समयानुकूल बनाउने विषय पनि महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । नयाँ पुस्तालाई जोड्न सामाजिक सञ्जाल, भिडियो सामग्री, सांस्कृतिक कार्यशाला तथा विद्यालयस्तरका कार्यक्रम प्रभावकारी हुनुपर्ने श्रेष्ठको भनाइ छ ।

निरन्तरतामा ‘ब्रेक’

सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौँको ‘भाई’ मानिँदै आएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्बरस्थलका रूपमा पाल्पा परिचित छ । कत्युरीवंश, पालवंश, खसवंश, सेनवंश र शाहवंशले शासन गरेको पाल्पामा उनीहरूले अवलम्बन गरेको रीतिरिवाज, रहनसहन, कला, वास्तुकला आजसम्म पनि कहीँ न कतै जीवन्त छ । विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखे नाच, कृषि संस्कृतिसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारु जात्रा, प्रकृतिसँग जोडिएको बाघजात्रा आदि तानसेनका मुख्य जात्रा तथा पर्व हुन् ।

जात्राका माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनित्व र बन्धुत्वको भावना कायम रहन्छ । यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ । समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन । संस्कृति सम्वद्र्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय जात्राको रौनक हराउँदै गएको हो ।

पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखे नाचले प्रचलन सुरु भए पनि बेलाबेलामा निरन्तरता पाउन नसकको तानसेन बसपार्कका हास्य कलाकार किरण चित्रकार बताउनुहुन्छ । विसं २०१८ तिर पाल्पाको तानसेनमा स्व लाले जोकर, स्व प्रराणप्रसाद उदय, स्व ब्रमशेखर बज्राचार्य, स्वचन्द्रमान श्रेष्ठ, स्व बुद्धरत्न शाक्य, स्व थापा काका, स्व डण्डे बाहुन, स्व युक्तलाल चित्रकार, स्व बाबुराम सुवाल स्व रामबहादुर चौधरीलगायत कलाकारहरुले लाखे निकाल्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

विसं २०२८ पछि भने देउराली परिवार, मित्रुसिंह हेमचुरीको ग्रुप, टक्सारको मैत्री क्लब, बसपार्कको कल्याण कोष समितिबाट यो संस्कृतिलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।

सञ्चार र मनोरञ्जनका साधन प्रशस्तमात्रामा खुल्न थालेपछि लाखे नाचसहित यहाँका जात्रा विस्तार हराउन थालेको उहाँको भनाइ छ । अर्कातिर नाच खर्चिलो भएकाले पनि यो देखाउन कम भएको चित्रकार बताउनुहुन्छ । लामो समय निरन्तरता पाउन नसकेको नाचले पुनः २०५२ सालदेखि कल्याण कोष समिति (क्लब) ले त्यसको संरक्षणमा केही चासो देखाएको थियो तर पछि यहाँका स्थानीय सरकार र बजारका व्यापारीबाट आर्थिक सहयोग हुन छोडेपछि विस्तारै देखाउन बन्द भयो । तानसेनको रणउजेश्वरी भगवती मन्दिरमा जागरामका दिन देखाइने लाखे नाच पनि आव २०६२र६३ सालमा देखाइएन । भगवती मन्दिरमा लाखे ननिकालेपछि यहाँका कलाकारहरुले आफैँ भए पनि निकाल्ने अठोट गरी २०६४ देखि लाखे निकाल्न थालेको चित्रकारको भनाइ छ ।

लाखे जोगाउन कस्सिए तन्नेरी

पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको लाखे नाच जोगाउन पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवा अघि बढेका छन् । उनीहरूले २०६४ सालदेखि अहिलेसम्म जसोतसो लाखे नाचलाई निरन्तरता दिँदै आएका छन् । उनीहरुले हरेक वर्ष घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखे नाच प्रदर्शन गर्ने गर्दछन् । समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केबल नाच देखाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो । “बाबुबाजेको परम्परा बिर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ,” चित्रकार भन्नुहुन्छ, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।” नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकारको चिन्ता छ । “अरू समुदाय माझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ ।

लाखेनाचको आकर्षण यसको मुखौटा, वेषभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको छ । लाखे नाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मीले बताउनुभयो । बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल र आकर्षक वेषभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो ।

लोप हुन लागेको लाखे नाच संरक्षणका लागि पाल्पाली नाट्य कलासांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायत स्थानमा हरेक साँझ ६ः०० बजेदेखि करिब तीन घण्टासम्म लाखे नाच प्रदर्शन गर्दै आएको छ । यो नाच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ ।

तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमासमेत लाखे नाच नाच्ने परम्परा रहेको छ । लाखे नाच हराउनु भनेको एउटा नाच हराउनु मात्र होइन । यससँग जोडिएका सीप, कथा, सङ्गीत, सामुदायिक सम्बन्ध र सांस्कृतिक स्मृति पनि कमजोर हुनु हो । तसर्थ लाखे नाच संरक्षणका लागि सबैभन्दा पहिले यसको पुस्तान्तरण आवश्यक छ । स्थानीय समुदाय, सांस्कृतिक संस्था, विद्यालय र स्थानीय तहले युवालाई लक्षित गरेर नियमित प्रशिक्षण सञ्चालन गर्न सक्नुपर्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>