देश/प्रदेश

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

Banner

कैलाली, असोज १ –

कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।

जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ ।

कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् । तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना रहेका छन् ।

घोडाघोडीका तीन सङ्क्रमितमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको सूचना अधिकारी धामीले बताउनुभयो ।

घोडाघोडी र लम्कीचुहामा आजदेखि अभियान सुरु भएको र धनगढीमा असोज ८ गतेदेखि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यसैबीच, घोडाघोडी नगरपालिकामा नगरपालिकाका कर्मचारीलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको छ ।

आज बिहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले खोप लगाएर अभियानको उद्घाटन गर्नुभयो ।

घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ३० वर्ष उमेर समूहसम्मका व्यक्तिलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकामा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइनेछ । बोहराले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>