खेलकुद
विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

काठमाडौं ,भदौ २३-
फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन् ।
उनले रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबमा खेल्दा व्यक्तिगत पुरस्कारको अपेक्षा स्वाभाविक हुने पनि उल्लेख गरेका छन् ।
च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलानसँगको भेटअघि बोल्दै २७ वर्षीय एमबाप्पेले यसपटकको विश्वकप आफ्नो करिअरकै विशेष अभियान भएको बताए । उनले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए भने प्रतियोगितामा आफ्नो कुल गोल संख्या २२ पुयाएर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
‘यो गर्मीयाममा मैले खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगितामा धेरै इतिहास रचेँ । यो ब्यालोन डी’ओर जित्नका लागि राम्रो वर्ष हुन सक्छ, तर अन्तिम निर्णय मतदाताको हातमा हुन्छ,‘एमबाप्पेको भनाइ उद्धृत गर्दै गोल डटकमले जनाएको छ ।
फ्रान्स विश्वकपमा चौथो स्थानमा सीमित भए पनि एमबाप्पेको व्यक्तिगत प्रदर्शनले प्रतिष्ठित पुरस्कारको दौडमा उनको सम्भावना अझ बलियो बनाएको छ । उनले अहिलेसम्म ब्यालोन डी’ओर जित्न सकेका छैनन् ।
रियल म्याड्रिडमा खेल्दा सामूहिक र व्यक्तिगत दुवै सफलता जोडिने भएकाले ब्यालोन डी’ओरबारे चर्चा हुनु स्वाभाविक रहेको उनले बताए । ‘मानिसहरूले सडकमा भेट्दा पनि ब्यालोन डी’ओरकै कुरा गर्छन् र मलाई सम्भावित विजेताका रूपमा हेर्छन,‘उनले भने ।
यद्यपि, उनले आफ्नो गोल गर्ने लय उत्कृष्ट रहे पनि रियल म्याड्रिडले अझ सुधार गर्नुपर्ने स्वीकार गरेका छन् । उस्मान डेम्बेले र राफिन्हासँग गरिने तुलना आफूलाई मन नपर्ने भन्दै प्रत्येक खेलाडीको भूमिका फरक हुने उनले बताए ।
व्यक्तिगत पुरस्कारभन्दा टोलीको सफलता आफ्नो प्राथमिकता रहेको एमबाप्पेको भनाइ छ । ‘यदि ३० गोल मात्र गरेर पनि उपाधि जित्न सकिन्छ भने म त्यही रोज्छु । मलाई उपाधि नै बढी महत्त्वपूर्ण छ । तर गोल पनि गर्न चाहन्छु र दुवै हासिल गर्ने लक्ष्य छ,‘ उनले भने । एएनआई
























