तनहुँ

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

Banner

दमौली (तनहुँ), भदौ १३ –

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ ।

सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिनुभयो ।

केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताउनुभयो । सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ । ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ ।

वितरण केन्द्रअन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४र०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन् ।

वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा सेवा प्रवाह गर्दै आएको छ ।

वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन् ।

केन्द्रले ११र०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>