चितवन विशेष
रसुवाको बाढीपछि नारायणगढ–काठमाडौं सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द

चितवन, भदौ १०–
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनीलगायतका स्थानमा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।
बुधबार जारी अत्यन्त जरुरी सूचनामा सडकमा देखिएको अवरोध तत्काल हटाउन केही समय लाग्ने जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ।
प्रशासनले बाढी तथा पहिरोको जोखिम अझै पूर्ण रूपमा नहटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै बाढी, पहिरो तथा सवारी आवागमनसम्बन्धी सूचना वा समस्या परेमा सम्बन्धित सुरक्षा निकाय र जिल्ला आपत्कालीन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


























