अर्थ

साउनमा आयात भएका चारपांग्रे गाडीमा ईभीको हिस्सा ७० प्रतिशत नजिक

Banner

काठमाडौं, भदौ ५-

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा चारपांग्रे सवारीसाधनको आयातमा विद्युतीय गाडीको वर्चस्व देखिएको छ। साउनमा आयात भएका कुल ९८७ वटा चारपांग्रे यात्रुवाहक सवारीमध्ये ६८९ वटा पूर्ण विद्युतीय रहेका छन्।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा आयात भएका चारपांग्रे सवारीमध्ये करिब ६९.८ प्रतिशत विद्युतीय छन्। अर्थात् नेपाल भित्रिएका चारपांग्रे सवारीमध्ये झन्डै १० वटामा सातवटा विद्युतीय रहेका छन्।

साउनमा ६८९ वटा विद्युतीय गाडी आयात गर्दा त्यसका लागि १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। विद्युतीय गाडीबाट सरकारले १० करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आयातित भ्ख् को औसत मूल्य करिब २३ लाख ४४ हजार रुपैयाँ देखिन्छ।

यसको तुलनामा पेट्रोल र डिजेलबाट चल्ने चारपांग्रे सवारीको आयात संख्या निकै कम छ। साउनमा पेट्रोल र डिजेलका गरी २७५ वटा गाडी आयात भएका छन्। तीमध्ये २१९ वटा पेट्रोल र ५६ वटा डिजेल इन्जिनका छन्।

पेट्रोल–डिजेलका गाडी आयातमा ४४ करोड ८६ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। यसबाट सरकारले करिब १० करोड ९७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ। यी गाडीको औसत आयात मूल्य करिब १६ लाख ३१ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, साउनमा २३ वटा प्लग–इन हाइब्रिड गाडी पनि नेपाल भित्रिएका छन्। तीमध्ये १७ वटा २ हजार सीसीभन्दा माथिका र ६ वटा २ हजार सीसीसम्मका छन्। हाइब्रिड गाडी आयातमा १२ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ भने सरकारले २ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

तथ्यांकले नेपालमा चारपांग्रे सवारीको बजार विद्युतीय प्रविधितर्फ तीव्र रूपमा सर्दै गएको संकेत गरेको छ। कुल आयात संख्यामा ईभी को हिस्सा करिब ७० प्रतिशत पुग्दा पेट्रोल–डिजेल गाडीको हिस्सा करिब २८ प्रतिशतमा सीमित भएको छ। बाँकी हिस्सा प्लग–इन हाइब्रिडले ओगटेको छ।

तर राजस्वका हिसाबले भने विद्युतीय र इन्धन गाडीबीचको अन्तर निकै कम देखिन्छ। संख्या दुई गुणाभन्दा बढी भए पनि ईभी बाट १० करोड ६२ लाख रुपैयाँ राजस्व उठ्दा पेट्रोल–डिजेल गाडीबाट १० करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। यसले विद्युतीय सवारीको बढ्दो बजारसँगै सरकारले विभिन्न प्रकारका सवारीमा अपनाएको कर संरचनाको प्रभावसमेत देखाएको छ।

साउनको तथ्यांकले नेपाली अटो बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण अझै बलियो रहेको देखाएको छ। आयातको ठूलो हिस्सा ईभी ले ओगट्न थालेसँगै आगामी महिनामा पनि चारपांग्रे सवारी बजारको संरचना विद्युतीयतर्फ थप झुक्ने सम्भावना देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>