विचार/ब्लग
अंगदान र शरीरदानः नेपाली समाजमा बदलिँदो चलन

प्रमिला कार्की,
काठमाडौं, भदौ १ –
नेपालमा मृत्यु र मृत्युपछिको संस्कारलाई धार्मिक तथा सांस्कृतिक परम्परासँग गहिरो रूपमा जोडेर हेरिन्छ । विशेषगरी धार्मिक संस्कारमा मृत्यु भएपछि शवलाई अन्त्येष्टि गर्ने, दाहसंस्कार गर्ने, काजक्रिया तथा श्राद्ध गर्ने परम्परा छ ।
अन्य समुदायमा पनि मृत्युपछि आ–आफ्नै धार्मिक र सांस्कृतिक विधिअनुसार अन्तिम संस्कार गर्ने चलन छ । त्यसैले नेपाली समाजमा मृत्युपछि शरीरलाई सुरक्षित राख्ने वा त्यसको कुनै अंग अरूको उपचारका लागि प्रयोग गर्ने विषय लामो समयसम्म सहज रूपमा स्वीकारिएको विषय थिएन ।
शरीरलाई मृत्यु भएपछि पूर्णरूपमा अन्त्य गर्नुपर्ने परम्परागत सोचसँगै अंगदान र शरीरदानबारे विभिन्न धार्मिक तथा सामाजिक भ्रम पनि देखिन्छन् । आँखादान गर्दा अर्को जन्ममा अन्धो हुने, शरीरबाट अंग निकाल्दा अर्को जन्ममा अपूर्ण भएर जन्मिने वा मृत्यु भएपछि शरीर चिर्नु धार्मिक रूपमा उचित नहुनेजस्ता धारणाले अंगदानप्रति संकोच सिर्जना गर्दै आएका छन्।
तर पछिल्लो समय नेपाली समाजमा यस्ता परम्परागत बुझाइ क्रमशः परिवर्तन हुन थालेका छन्। मृत्यु भएपछि नष्ट भएर जाने शरीर वा त्यसका अंगलाई अरूको जीवन बचाउन तथा चिकित्सा शिक्षामा प्रयोग गर्न सकिन्छ भन्ने चेतना विस्तार हुँदै गएको छ । यही परिवर्तनसँगै अंगदान र शरीरदानलाई धार्मिक संस्कारको विपरीत नभई मानवता, सामाजिक जिम्मेवारी र सेवाको नयाँ स्वरूपका रूपमा हेर्न थालिएको छ ।
नेपालमा अंगदानप्रति अझै विभिन्न किसिमका भ्रम र सामाजिक–धार्मिक संकोच कायम रहेकाले त्यसलाई चिर्दै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा नेपाल अंगदाता संघका पदाधिकारी तथा अंगदानको घोषणा गरेका व्यक्तिहरूले जोड दिएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल अंगदाता संघका अध्यक्ष ओम चरण अमात्यले अंगदानबारे रहेका भ्रम हटाएर यसप्रति सार्वजनिक जनचेतना बढाउनु संघको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार अंगदानका विषयमा सही जानकारीको अभावका कारण मानिसहरूमा विभिन्न प्रकारका गलत धारणा कायम छन्।
अमात्यका अनुसार आँखादान गरे अर्को जन्ममा ‘अन्धो’ भइन्छ, आँखाको डल्लो नै निकालिन्छ, छाला दान गर्दा पूरै छाला काटिन्छ वा मिर्गौला दान गरे अर्को जन्ममा मिर्गौला हुँदैन भन्ने जस्ता भ्रम समाजमा अझै पाइन्छन् ।
उनले भने, ‘आँखादान गर्ने बेला अर्को जुनीमा ‘अन्धा’ भएर जन्मिन्छ भन्ने खालको भ्रम छ । आँखा सबै निकाल्ने हो कि, कुरूप हुने हो कि भन्ने पनि छ । तर सबै निकाल्ने होइन, एउटा नानी मात्रै निकाल्ने हो ।’
त्यस्तै छाला दानका विषयमा पनि मानिसहरूमा भ्रम रहेको उनको भनाइ छ । उनका अनुसार छाला दान गर्दा पूरै छाला काट्ने नभई आवश्यक पर्ने सानो तह मात्र प्रयोग गरिन्छ ।
मिर्गौला दानका विषयमा पनि मानिसहरूले गलत धारणा बनाउने गरेको उनले बताए । यस्ता भ्रम चेतनाको कमीका कारण उत्पन्न भएको भन्दै अमात्यले अंगदानका वास्तविक प्रक्रिया र त्यसबाट हुने फाइदाबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिए।
अमात्यले आफूले अंगदान गर्ने निर्णय गर्दा त्यसबाट अरू मानिसको जीवन जोगाउन सकिने भएकाले यसलाई मानवतासँग जोडेर हेर्नुपर्ने बताए।
उनका अनुसार एउटा व्यक्तिको दुईवटा मिर्गौलाबाट दुई जनाको जीवन जोगाउन सकिन्छ भने कलेजोबाट अर्को व्यक्तिको जीवन बचाउन सकिन्छ । आँखादानबाट दृष्टिविहीन व्यक्तिले फेरि संसार देख्नसक्ने र छाला प्रत्यारोपणबाट जलन तथा चोटपटकका कारण छाला बिग्रिएका व्यक्तिलाई उपचारमा सहयोग पुग्ने उनले बताए।
उनले भने, ‘मेरो दुई वटा किड्नीबाट दुई जना मान्छेको ज्यान बच्न सक्छ। मेरो लिभरबाट मर्नै लागेको एकजना मान्छेको ज्यान जोगिन्छ भने त्योभन्दा ठूलो धर्म अरु केही पनि होइन।’
उनका अनुसार मानिसको मृत्यु भएपछि जलाएर वा गाडेर शरीर नष्ट हुने भएकाले त्यसअघि अंगदानको निर्णय गर्न सके त्यसबाट अरूको जीवन बचाउन सकिन्छ ।
नेपालमा सडक दुर्घटना तथा विभिन्न कारणले ‘ब्रेन डेड’ हुने मानिसको संख्या भए पनि मृत्यु पश्चात् अंगदान गर्नेको संख्या अत्यन्तै न्यून रहेको अमात्यले बताए।
उनका अनुसार हालसम्म नेपालमा ब्रेन डेडपछि अंगदान गर्नेको संख्या जम्मा नौ जना मात्र रहेको इतिहास छ ।
उनले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनाबाट २ हजार ७ सय ५ जना मानिसको मृत्यु भएको उल्लेख गर्दै त्यसमध्ये अत्यन्तै न्यून व्यक्तिको अंगदान भएको बताए।
अंगदानसम्बन्धी जनचेतनाको कमीका कारण ठूलो संख्यामा उपयोगी अंग खेर गइरहेको उनको भनाइ छ । मृत्यु भएपछि शरीर धार्मिक संस्कारअनुसार जलाउने वा गाड्ने भए पनि त्यसअघि अंगदान गर्न सके अन्य मानिसको जीवन बचाउन सकिने उनले बताए।
अमात्यका अनुसार अंगदान गर्न चाहने व्यक्तिले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएर आवश्यक फाराम भर्न सक्छन् । त्यसका लागि नागरिकताको प्रतिलिपि र फोटोसहित फाराम भर्ने व्यवस्था रहेको उनले बताए ।
तर अंगदानको घोषणा गरेपछि आफ्नो परिवारका सदस्यलाई समेत त्यसबारे जानकारी गराउनुपर्ने उनको सुझाव छ। आफूले अंगदान गर्ने निर्णय गरेको कुरा परिवार र साथीभाइसँग छलफल गरेमा भविष्यमा अंगदानको प्रक्रिया अघि बढाउन सहज हुने उनले बताए।
यस्तै,नेपाल अंगदाता संघका सचिव प्रभुराम थापाले अंगदान तथा शरीरदानको घोषणा गर्ने व्यक्तिहरूलाई संघले सम्मान गर्दै आएको बताए।
उनका अनुसार यसअघि पनि संघले विभिन्न कार्यक्रममार्फत अंगदानको घोषणा गर्ने व्यक्तिहरूलाई सम्मान गरेको थियो।
थापाका अनुसार समाजमा अझै अंगदानका विषयमा जनचेतनाको कमी छ । शरीर काट्न नहुने, शरीरबाट अंग निकाल्दा अर्को जन्ममा समस्या हुने वा धार्मिक रूपमा अप्ठ्यारो पर्ने जस्ता धारणाले अंगदानमा अवरोध सिर्जना गरिरहेको उनले बताए।
थापाका अनुसार अंगदानको घोषणा गर्ने व्यक्तिले सम्बन्धित स्वास्थ्य संस्थामा फाराम भरेर कार्ड लिनुपर्छ। तर कार्ड लिएर मात्र पुग्दैन। आफ्नो परिवार र समाजलाई समेत आफूले अंगदान गर्ने घोषणा गरेको जानकारी गराउनुपर्ने उनले बताए।
उनले भने, ‘मैंले अंगदान गरेको छु । यदि मलाई केही भइहाल्यो भने मेरो अंगदान गर्ने स्वघोषणा गरेको छु, त्यहीअनुसार दान दिनको लागि बाधक नबन्दिनुस् भनेर परिवारलाई जानकारी दिनुपर्छ ।’
उनका अनुसार मृत्युपछि अंगदानका लागि परिवारको जानकारी र सहमति महत्वपूर्ण हुने भएकाले अंगदान गर्ने व्यक्तिले आफ्नो निर्णय परिवारसम्म पु¥याउन आवश्यक छ ।
संघका सचिव थापा आफैंले आफ्नो परिवारका सदस्यलाई कलेजो दान गरेका व्यक्ति हुन् । उनले आफूलाई पहिले ‘लिभर डोनर पेसेन्ट’ भन्ने गरेपनि अहिले आफूलाई ‘लिभर डोनर व्यक्ति’ भनेर चिनाउन गर्व लाग्ने बताए ।
उनका अनुसार अंगदान दुई प्रकारको हुन्छ । एउटा मृत्यु भएपछि गरिने अंगदान र अर्को जीवित अवस्थामा गर्न सकिने अंगदान । जीवित अवस्थामा कलेजो र मिर्गौला दान गर्न सकिने उनले बताए ।
थापाले आफ्नै परिवारको एक सदस्यलाई कलेजो दान गरेको जानकारी दिँदै यसबाट आफूलाई मानवताका दृष्टिले गर्व महसुस हुने बताए।
‘मैले लिभर दान गरेँ, मेरो परिवारलाई। जसलाई गरेँ नि, मैले एक जना नेपाली चेलीलाई गरेको हुँ, छोरीलाई गरेको हो,’ उनले भने।
उनका अनुसार आफूले अंगदान गर्दा कसैको जीवन बचाउन सकिन्छ भन्ने भावना नै सबैभन्दा महत्वपूर्ण हो। अर्को जन्ममा के हुन्छ भन्ने चिन्ताभन्दा अहिले कसैको जीवन बचाउन सक्नु ठूलो कुरा भएको उनले बताए।
थापाका अनुसार अंगदाता संघमार्फत अंगदानसम्बन्धी अभियान अहिले सुरुवाती चरणमा रहेको छ । संघले ०८० सालदेखि यस विषयमा जनचेतना अभिवृद्धिको प्रयास गर्दै आएको उनले बताए ।
संघसँग समन्वय गरेर अंगदानको घोषणा गर्नेहरूमा ज्येष्ठ नागरिकसमेत रहेका छन् । उनका अनुसार ९३ वर्षीय र ८७ वर्षीय व्यक्तिले समेत अंगदान गर्ने घोषणा गरेका छन्। उनले ज्येष्ठ नागरिकले समेत अंगदानका लागि तयार हुनु सकारात्मक सन्देश भएको बताए।
मृत्युपछि शरीरदान गर्ने परिवारको निर्णय
मृत्युपछि नष्ट भएर जाने शरीरका अंगबाट अर्को व्यक्तिको जीवन बचाउन सकिने र शरीरलाई चिकित्सा शिक्षाका लागि उपयोग गर्न सकिने बुझाइ विस्तार हुँदै जाँदा नेपाली समाजमा पनि यसले नयाँ संस्कृतिको रूप लिन थालेको देखिन्छ । यही परिवर्तनको उदाहरण बनेका छन् मृत्युपछि शरीरदानको घोषणा गरेका भक्तराज भण्डारी ।
भण्डारीले आफू र आफ्नो परिवारले सुरुमा अंगदान तथा आँखादान गर्ने विषयमा सोच्दै आएको भए पनि पछि सम्पूर्ण शरीर नै दान गर्ने निर्णयमा पुगेको बताए। उनका अनुसार शरीरदानका लागि कहाँ र कसरी दान गर्न सकिन्छ भन्नेबारे विभिन्न अस्पतालमा समेत बुझिएको थियो।
अंगदाता संघका अध्यक्षसँग कुराकानी भएपछि भने आफूहरू शरीरदानको प्रक्रियामा अघि बढेको उनले बताए।
भण्डारीले भने, ‘हामी अंगदान मात्रै होइन, शरीर दान गर्छौं। हामी दुई परिवार छौं शरीर दानकै लागि खोजी राखेको थियौं ।’
उनका अनुसार शरीरदानको निर्णय गर्नुको मुख्य कारण मृत्यु भएपछि त्यसै पनि नष्ट भएर जाने शरीरलाई चिकित्सा शिक्षाका लागि उपयोगी बनाउन सकिन्छ भन्ने सोच हो। नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीले मानव शरीरको अध्ययन गर्न पाउने वातावरण बनाउन आफ्नो शरीर उपयोगी बन्न सक्ने उनको भनाइ छ।
उनले भने, ‘परम्परा हो, परम्परामा त शरीर जलाउने नै हो। जलाएर पनि नष्टै हुने हो। तर यो शरीर फेरि अरू प्रयोजनको लागि सदूपयोग गर्न सकिन्छ ।’
भण्डारीका अनुसार मानिसको शरीर अन्ततः नष्ट हुने भएकाले त्यसलाई शिक्षाका लागि उपयोग गर्न सकिए भविष्यका चिकित्सकको अध्ययनमा सहयोग पुग्नेछ । त्यसैले शरीरदानलाई आफूहरूले सामाजिक योगदानका रूपमा लिएको उनले बताए।
भण्डारीले शरीरदानको निर्णय परिवारको सल्लाह र सहमतिमा गरिएको बताए। परिवारका सदस्यहरूबीच छलफल नगरी यस्तो निर्णय नगर्ने भन्दै उनले आफूहरूको परिवारमा भने शरीरदानको विषयलाई सहज रूपमा स्वीकार गरिएको बताए।उनले भने, ‘हाम्रो परिवारमा त गाह्रो भएन, किनभने हामी सबै त्यसको लागि तयार छौं, घर सल्लाह नगरी गर्दैनौं ।’
शरीरदानपछि परम्परागत रूपमा गरिने अन्तिम संस्कारका विषयमा पनि आफूहरूले फरक ढंगले सोच बनाएको उनले बताए । शरीरदान गरेपछि शव घाटमा लगेर जलाउने आवश्यकता नपर्ने भएकाले त्यससँग जोडिएका केही परम्परागत प्रक्रिया पनि नहुने उनको बुझाइ छ।
उनले भने, ‘शरीर दान गरिसकेपछि हामी घाट जानु परेन। घाट जान नपरेपछि कसैले बार्नु पनि परेन ।’
भण्डारीका अनुसार मृत्यु भएपछि शरीरदान गर्ने निर्णयले परिवारलाई धार्मिक तथा सामाजिक रूपमा फरक किसिमको जिम्मेवारी पनि दिएको छ । उनका अनुसार मृत्युपछि शरीर नष्ट गर्नुको सट्टा त्यसलाई कुनै उपयोगी कार्यमा लगाउन सकिन्छ भन्ने सोच नै आफ्नो परिवारको निर्णयको आधार हो।
भण्डारीले अंगदानलाई पनि शरीर दानकै निरन्तरताका रूपमा हेरेका छन् । उनका अनुसार मृत्यु भएपछि मानिसको शरीर नष्ट भए पनि उसका अंगबाट अरू मानिसको जीवन बचाउन सकिन्छ भने त्यस अर्थमा मृत व्यक्तिको योगदान निरन्तर रहन्छ ।
उनले पूर्वजन्म र पुनर्जन्मको परम्परागत अवधारणालाई आफूहरूले भौतिक दृष्टिकोणबाट नहेर्ने बताए । बरु आफू बाँचिरहेको जीवनमा आफ्नो शरीरले अरूका लागि जति काम गर्न सक्छ, त्यति योगदान गर्नुपर्ने उनको धारणा छ।
उनले भने, ‘त्यही अवस्थामा हामीहरू यो शरीरले जतिसम्म काम लाग्न सक्छ, अरूको लागि यो शरीर अर्पण गर्नुपर्छ भन्ने हो।’
भण्डारीको यो भनाइले अंगदान र शरीरदानलाई धार्मिक विश्वासको विषयभन्दा पनि मानव जीवन र सामाजिक उपयोगितासँग जोडेर हेर्नुपर्ने उनको दृष्टिकोण स्पष्ट गर्छ ।
नेपालमा मृत्यु भएपछि शरीरलाई धार्मिक संस्कारअनुसार अन्त्य गर्ने परम्परा लामो समयदेखि चलिआएको छ। तर भण्डारीको परिवारले शरीरदानको निर्णय गरेर यही परम्परागत सोचमा एउटा नयाँ प्रश्न उठाएको छ,मृत्यु भएपछि नष्ट हुने शरीरलाई अरूको जीवन र शिक्षाका लागि प्रयोग गर्न सकिन्छ भने किन नगर्ने ?
अंगदान तथा शरीरदानका पक्षमा रहेका व्यक्तिहरूका लागि यही प्रश्न महत्वपूर्ण बनेको छ । उनीहरूका अनुसार मृत्यु अपरिहार्य भएपनि मृत्युपछि आफ्नो शरीर वा अंगलाई कसैको जीवन बचाउन अथवा भावी चिकित्सकको अध्ययनमा उपयोग गर्न सकिन्छ भने त्यसलाई मानव सेवाको अवसरका रूपमा लिनुपर्छ।
भण्डारीको परिवारको निर्णय पनि यही सोचमा आधारित देखिन्छ। उनका अनुसार शरीर अन्ततः नष्ट हुने भएकाले त्यसलाई अर्थपूर्ण रूपमा उपयोग गर्न सक्नु नै आफूहरूको मुख्य उद्देश्य हो।
‘मरेर पनि बाँचिरहन पाऊँ’
त्यसैगरी,अंगदानको घोषणा गरेकी शान्तालक्ष्मी श्रेष्ठले आफूले ‘ब्रेन डेड’ भएपछि आवश्यक पर्ने अंगहरू दान गर्ने घोषणा गरेको बताइन्।
उनका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको फाराममा उल्लेख गरिएका अंगहरू आवश्यक पर्ने बिरामीलाई उपलब्ध गराउने उद्देश्यले आफूले अंगदानको घोषणा गरेकी हुन्।
उनले भनिन्, ‘मरेर गएता पनि बाँचिरहन पाऊँ र अरुको पनि ज्यान बाँचिरहोस् भन्ने त्यो अभिप्रायले अंगदान गरेकी हुँ ।’
श्रेष्ठका अनुसार अंगदानप्रतिको परम्परागत बुझाइमा पछिल्लो समय परिवर्तन आउन थालेको छ । मानिसहरूले आफू मरेपछि पनि आफ्ना अंगबाट अरूको जीवन बचाउन सकिने विषय बुझ्न थालेको उनले बताइन्।
उनका अनुसार आफूहरूले अंगदान गरेको जानकारी पाएपछि आफ्ना करिब २० जना साथीहरूले समेत अंगदान गर्न इच्छा देखाएका छन्।
‘हामीलाई पनि लैजाऊ, हामीलाई पनि त्यो अवसर देऊ भनेर भनिरहने धेरै साथीहरू हुनुहुन्छ,’ उनले भनिन्।
श्रेष्ठको मनमा शरीरदान गर्ने इच्छा करिब ३० वर्षअघि नै जागेको थियो । चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीले मानव शरीरको अध्ययनका लागि विदेशबाट शव ल्याउनुपर्ने अवस्थाबारे सुनेपछि आफूले शरीरदान गर्ने इच्छा राखेको उनको भनाइ छ।
उनका अनुसार चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले नेपालमै सहज रूपमा मानव शरीरको अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यले आफूमा शरीरदानको भावना विकास भएको थियो।
उनले भनिन्, ‘आफू मरेर पनि बाँच्ने दान भनेको त्यो जस्तो ठूलो दान अरु कुनै हुँदैन जस्तो लाग्छ मलाई।’
श्रेष्ठले अंगदानलाई मानवताको विषयसँगै मानव अधिकार र जिम्मेवारीको विषयका रूपमा लिनुपर्ने बताइन्।
उनका अनुसार मानिस जन्मिएपछि एक दिन मृत्यु स्वाभाविक भएकाले मृत्युको तयारीका क्रममा अंगदानको निर्णय गर्न सकिन्छ। यसले अकालमा मृत्युको जोखिममा रहेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने उनको भनाइ छ।
अंगदानबाट अरूको जीवन बचाउन सकिने भएकाले यसलाई मानव कर्तव्यका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।
मृत्यु जीवनको अन्त्य भए पनि, मृत्युबाट अर्को जीवन सुरु गराउने सम्भावना अंगदानले बोकेको हुन्छ। शरीरदानले मृत शरीरलाई पनि ज्ञान र चिकित्सा शिक्षाको स्रोतमा रूपान्तरण गर्न सक्छ। नेपाली समाजको परम्परागत संस्कारलाई सम्मान गर्दै मानव जीवन बचाउने र भावी पुस्तालाई सहयोग गर्ने यस्तो अभ्यास विस्तार हुनु बदलिँदो सामाजिक चेतनाको संकेत पनि हो। न्यूज बैंक

























