देश/प्रदेश
ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज औपचारिक रूपमा उद्घाटन

ललितपुर, साउन ३०-
ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। लामो समय अतिक्रमण र संरक्षण अभावका कारण संकटमा परेको पोखरी पुनर्स्थापनासँगै पुरानै स्वरूपमा फर्किन थालेको हो।
ललितपुर महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो। लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ।
२०६१ सालमा सुरु भएको कानुनी लडाइँपछि सर्वोच्च अदालतले २०७६ मा अतिक्रमित १४ रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप ३२ रोपनी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो।
लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। पुनर्निर्माणपछि स्थानीयवासी उत्साहित भएका छन् भने यसलाई सम्पदा संरक्षणको महत्वपूर्ण उपलब्धि मानिएको छ।

























