देश/प्रदेश

लिदिङखोला मोटरेबल पुलः जोखिमपूर्ण यात्रा गर्छन् स्थानीय

Banner

खोटाङ, साउन ३०-

सेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क बजार र सेलुखर्क-१ राखाबाङ्देलको सिमानामा पर्ने लिदिङखोलामा दुई वर्षभित्र बन्नुपर्ने मोटरेबल पक्की निर्माण नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । दुई वर्षमा बन्नुपर्ने पुल छ वर्षसम्म नबनेपछि स्थानीयसहित विद्यार्थीलाई सास्ती हुँदै आएको हो ।

कच्ची सडकमार्फत हिउँदको समयमा मात्र यातायात सञ्चालन हुँदै आएको लिदिङखोलामा मोटरेबल पुल विसं २०७९ भदौ २४ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७७ फागुन २८ गते ठेक्का लगाइएको थियो । निर्माण कम्पनी पुष्पाञ्जली-जिम्बा जेभीको ढिलासुस्तीका कारण हालसम्म यहाँ पक्की पुल बन्न नसकेको हो ।

छिमेकी जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका नजिक रहेको राखाबाङ्देलबाट आफ्नो गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजार तथा सदरमुकाम दिक्तेल जानआउन यही लिदिङखोला पार गर्नुपर्छ । तर लिदिङखोलामा मोटरेबल पक्की पुल नहुँदा चार पाङ्ग्रे यातायातका साधन वारपार गर्ने अवस्था छैन । पैदल तथा मोटरसाइकल वारपार गराउन काठको साँघु निर्माण गरिएको स्थानीय बताउँछन् ।

स्थानीयद्वारा निर्मित लिदिङखोलाको साँघु भाँचिदा पटकपटक दुर्घटना हुने गरेको सेलुखर्क(१ का वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताउनुभयो । “निर्माणस्थलमा पुलको दुईवटा स्तम्भ ठडिएको देखिन्छ । यो पुल निर्माणका लागि पाँचौँपटक म्याद थप गरियो । अन्तिमपटक थप गरिएको म्याद आगामी पुस ३० गते सकिँदैछ”, उहाँले भन्नुभयो, “लिदिङखोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दुई करोड १० लाख बजेट विनियोजन गरेको छ । तर, ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म काम अगाडि बढेको छैन । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

कोशी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा लिदिङखोलामा पुल बनाउने गरी ठेक्का लगाइएको थियो । ठेकेदार कम्पनीको लापरबाहीले सुरुमा काम नभएपछि प्रदेश सरकारबाट विनियोजन भएको रु ५० लाख बजेट फ्रिज भएर गएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण काम नहुँदा व्यायभार गाउँपालिका एक्लैले खेप्नुपरेको गाउँपालिकाका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “यहाँ समयमा पुल निर्माण गर्नका लागि गाउँपालिकाले पर्याप्त बजेट उपलब्ध गराएको छ । तर ठेकेदार कम्पनीको लापरबाहीका कारण छ वर्ष बितिसक्दा पनि अलपत्र छ”, उहाँले भन्नुभयो, “समयमा काम स्थानीयले यात्रामा सास्ती खेप्दै आएका छने । पछिल्लो पटक थप गरिएको म्यादमा पनि ठेकेदार कम्पनीले काम नगरेको खण्डमा कानुनी कारबाही गर्छौं ।”

पुल निर्माणका लागि पहिले बगिरहेको खोलाको पानीलाई धार परिवर्तन गरेर अर्कोपट्टी लगाइएको छ । खोलाको धार परिवर्तन गरिएकाले हिउँदरवर्षा जुनसुकै समयमा पनि कामलाई अवरोध हुँदैन । ठेकेदारको लापरबाहीले निर्माणाधीन मोटरेबल पक्की पुलको काम ढिलाइ हुँदा आफूहरू समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् ।

पछिल्लोपटक थप भएको म्यादभित्र स्ल्याब ढलानसहित सम्पूर्ण काम सम्पन्न गरेर गाउँपालिकालाई पुल हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि डेबिट राईले बताउनुभयो । “स्तम्भ निर्माण सकिएको छ । स्ल्याब ढलानका लागि गिटी र बालुवा निर्माणस्थलमा झारिसकेका छौँ”, उहाँले भन्नुभयो, “वर्षाका कारण अहिले सबै सडक अवरुद्ध छ । हिउँद लाग्नासाथ फलामे डण्डी र सिमेन्ट निर्माणस्थलमा झारेर स्ल्याब ढलानको काम गर्छौँ ।”

लिदिङखोलामा निर्माणाधीन कारण २६ दशमलव २० मिटर लामो मोटरेबल पक्की पुलका लागि निर्माण व्यवसायीले हालसम्म रु एक करोड १४ लाख २८ हजार ४२७ भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ । छिमेकी जिल्ला सोलुखुम्बुका स्थानीयलाई समेत लक्षित गरेर निर्माण सुरु गरिएको उक्त पुल रु तीन करोड २० लाख १८ हजार ९१० मा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>